६० वर्ष पुगे अभिनेता हमाल

कोल्हवी न्यूज
२०८१ जेष्ठ २७, आईतवार १५:१८ गते

नेपाली फिल्मका अभिनेता राजेश हमाल ६०औँ वसन्तमा टेकेका छन् । उनी पाल्पा जिल्लाको तानसेनमा २०२१ साल जेठ २७ गते जन्मिएका थिए ।

आफ्नो जन्मदिनको अवसर पारेर आइतबार पत्नी मधु भट्टराईको साथमा उनले बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ समेत गरेका छन् । जसको तस्बिर उनले सामाजिक संजालबाट शेयर गरेका छन् ।

स्वर्गीय दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’बाट हिरोको रूपमा नेपाली फिल्ममा प्रवेश गरेका उनले करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।

झण्डै तीन दशक नेपाली फिल्ममा एकछत्र राज गरेका उनको अनुहार पोस्टरमा राखेकै भरमा मात्रै पनि फिल्म चल्थे । नेपाली फिल्मका सर्वाधिक लोकप्रिय अभिनेता बनेका उनी धेरै व्यावसायिक फिल्म दिने हिरो पनि हुन् ।

मोडलिङबाट करियर सुरु गरेका हमालले अभिनय अगाडि नेपालमै केही फेसन शो गरेका थिए । उनी पहिलो पटक आबद्ध भएको फिल्म भने ‘भाग्यरेखा’ । तर त्यो फिल्म उनले पछि छोडेका थिए ।

‘देउता’, ‘शंकर’, ‘सडक’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘भिष्म प्रतीज्ञा’, ‘अल्लारे’ जस्ता फिल्मबाट ‘स्टारडम’ नेपाली दर्शकको मनमा राज गर्न सफल उनका फिल्म साउदी, मलेसिया, दुबई, कतारमा समेत धेरै माग हुन्थ्यो ।

५० वर्षमा प्रेमिका मधु भट्टराईसँग विवाह गरेका उनको अहिलेसम्म सन्तान भने भएको छैन । सन्तानको प्रश्नमा उनी योजना नभएको बताउँदै आएका छन् ।

हमाल पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियो र विभिन्न ब्राण्डमा अबद्ध रहेर काम गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*