अमेरिकाको राष्ट्रपति निर्वाचनमा पहिले पनि यी व्यक्तिले लडेका थिए जेलबाटै चुनाव
संयुक्त राज्य अमेरिकाको राजनीतिक इतिहासमा डोनल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहर हुने पहिलो भूतपूर्व वा पदासीन राष्ट्रपति बने।
अधिकांश विज्ञहरू गत साता म्यान्हटनको एउटा अदालतले ३४ वटा कसुरमा दोषी ठहर गरेको भए पनि ट्रम्पले जेल जानुनपर्ने ठान्छन्।
ट्रम्पले उक्त निर्णयविरुद्ध पुनरावदेन दिने ठानिएको छ र सम्भवत: त्यो प्रक्रिया आगामी नोभेम्बर महिनाको चुनाव पछिसम्म पनि चल्न सक्छ। अहिलेकै आदेशले निरन्तरता पायो भने पनि उनले जरिवाना तिर्नुपर्ने वा निगरानीमा बस्नुपर्ने हुन सक्छ।
तर जेल जानैपर्ने अवस्था आएको खण्डमा पनि ट्रम्प आसन्न राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न पाउँछन्। (अनि निर्वाचन जितेमा उनले जेलभित्रबाटै राष्ट्रपतिको भूमिका निर्वाह गर्न सक्छन्।)
दण्डनीय अपराधमा दोषी ठहर भएको व्यक्ति कसरी राष्ट्रपतिको उम्मेदवार बन्न सक्छ?
जोर्ज वाशिङ्टन संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भएको साल सन् १७८९ देखि राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक कानुनी मापदण्ड फेरिएको छैन।
“एउटा योग्यता चाहिन्छ त्यो भनेको उनीहरू अमेरिका र त्यसका भूभागहरूमा जन्मिएको हुनुपर्छ। त्यही भएर ओबामा वास्तवमा अमेरिकी नागरिक थिए वा थिएनन् भनेर त्यत्रो हल्लीखल्ली भयो,” यूनिभर्सिटी कलेज लन्डनका सेवानिवृत्त प्राध्यापक इवान मोर्गनले बीबीसीसँग भने, “अनि एउटा निश्चित उमेरको (३५ वर्षको) हुनुपर्छ।”
निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्ति १४ वर्ष अमेरिकामा बसेको हुनुपर्छ। मोर्गनका अनुसार यो प्रावधान अमेरिकामा गृहयुद्धपछि राज्यविरुद्ध विद्रोह गरेका व्यक्तिहरूलाई लक्षित गरेर थपिएको थियो। तर उनले सर्वोच्च अदालतले यो प्रावधान ट्रम्पविरुद्ध प्रयोग गर्न सक्ने सम्भावना आफूले नेदेखेको बताए।
तर दण्डनीय अपराधमा दोषी ठहर भएका व्यक्तिलाई ह्वाइट हाउसको उम्मेदवार बन्न निषेध नगरिएको उनले बताए। प्रा मोर्गनका अनुसार अमेरिकाको स्थापना भएपछिको इतिहाससँग यसको कारण सम्बन्धित छ।
“संयुक्त राज्य अमेरिकाको जन्म क्रान्तिबाट भएको हो। त्यस बेला अमेरिका ब्रिटेनको उपनिवेश थियो र कुनै व्यक्ति राजतन्त्रविरुद्धको गतिविधिमा जेलमा बस्नुपरेको हुन सक्थ्यो र त्यसैका कारणले राष्ट्रपतिको उम्मेदवार बन्न नपाउने परिस्थिति बन्न सक्थ्यो।”
सन् १७८७ मा अमेरिकी संविधानको खाका तयार पार्ने अधिवेशनका कुनै पनि “संस्थापक नेता”लाई ब्रिटेनले साँच्चिकै जेल नहालेको तर केही नेता झन्डैझन्डै जेल परेको उनले बताए।
“यदि क्रान्ति सफल नभएको भने उनीहरूलाई राजमुकुटविरुद्ध द्रोह गरेकोमा दोषी ठहर गरिन्थ्यो र उनीहरू अपराधी हुने थिए।”
त्यही भएर संविधान लेख्नेहरूले कसैलाई पनि राष्ट्रपति बन्न निषेध लगाउन खोजेनन्। त्यो नीतिकै कारण तीन उम्मेदवारहरू जेलभित्र बसेरै राष्ट्रपतिको चुनावमा उठे।
यूजीन भी डेब्स

“सङ्घीय जेलमा रहेर राष्ट्रपतिको चुनावमा लड्ने सबैभन्दा महत्त्वपूर्ण उम्मेदवार यूजीन भी डेब्स थिए,” प्रा मोर्गन भन्छन्।
यूजीन सन् १८९४ मा मजदुर नेताका रूपमा जेल पुगेका थिए। एउटा ट्रेन कम्पनीविरुद्ध सङ्घर्षको क्रममा उनलाई हुलाकमा अवरोध पुर्याएको आरोप लागेको थियो।
सेनाले हस्तक्षेप गरेर उक्त हडताल अन्त्य गरिदिएको थियो अनि डेब्स छ महिनाका लागि जेल परेका थिए। उक्त घटनाबाट उनको राजनीतिक दृष्टिकोणमा ठूलो प्रभाव पर्यो।
“बिसौँ शताब्दीको प्रारम्भमा उनी अमेरिकाको समाजवादी पार्टीका एक मुख्य सदस्य बन्न पुगे। उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बने,” प्रा मोर्गन भन्छन्। सन् १९०० मा उनी सोशल डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका थिए।
“सन् १९१२ मा चारपक्षीय प्रतिस्पर्धा भएको थियो। त्यो प्रतिस्पर्धा डेमोक्र्याट नेता वुड्रो विल्सन, रिपब्लिकन नेता विलिअम हवार्ड ट्याफ्ट, प्रोग्रेसिभ उम्मेदवार तथा पूर्वरिप्ब्लिकन राष्ट्रपति थिओडोर रूजभेल्टबीच भएको थियो। त्यसमा डेब्सले राम्रो मत ल्याएका थिए।”
उनले झन्डै १० लाख मत ल्याए जुन खसेको कुल मतको ६% जति थियो। त्यो हालसम्म अमेरिकामा समाजवादी दलका उम्मेदवारले पाएको सर्वाधिक मत प्रतिशत हो।
उनले कुनै पनि इलेक्टोरल कलेजको भोट जितेनन् तर उनी फ्लोरिडामा दोस्रो भएका थिए। तर त्यसपछि सुरु भएको पहिलो विश्वयुद्धले अमेरिकी समाजवादीहरूमा ठूलो द्विविधा उत्पन्न भएको प्रा मोर्गन बताउँछन्।
“हामीले यसलाई देशभक्तिको नाममा समर्थन गर्ने या यसलाई पुँजीवादी युद्ध भनेर विरोध गर्ने?” समाजवादीहरूको त्यस बेलाको मनस्थितिबारे उनले भने।
डेब्स युद्धविरुद्ध थिए र उनले अमेरिकीहरूलाई त्यसमा भाग लिन निरुत्साहित गर्ने काम गरे।
“सन् १९१८ शरद् ऋतुको प्रारम्भतिर युद्ध लगभग समाप्त भइसकेको थियो। क्यान्टन ओहायोमा भाषण गर्दै उनले अमेरिकीहरूलाई सेनामा भर्ना गर्ने अभ्यासको प्रतिरोध गर्न आह्वान गरे।”
उनलाई देशद्रोहको अभियोग लगाइयो र एप्रिल १९१९ मा एट्लान्टास्थित एउटा सङ्घीय जेलमा पठाइयो। त्यसको एक वर्षपछि चुनावको समयमा उनी त्यहीँ थिए र समाजवादी दलले उनलाई आफ्नो उम्मेदवार बनाएको थियो।
डेब्सले सन् १९१२ मा आफूले पाएकोभन्दा केही बढी मत पाए। त्यस बेला ९,१४,१९१ मत ल्याए पनि उनले पाएको मतले कुल मतसङ्ख्याको ३% थियो। महिलाहरूले पनि त्यसबेला मतदानको अधिकार पाएका थिए।
तर त्यस बेला एट्लान्टास्थित जेलको अवस्था अमेरिकामा हिंसात्मक अपराध गर्ने व्यक्तिले अहिले पाउने सुविधाभन्दा नराम्रो थियो। जेलमा बस्दा डेब्सको स्वास्थ्य बिग्रियो।
तीन वर्ष जेलमा बसेपछि उनलाई रिहा गरियो तर उनको स्वास्थ्यमा कहिल्यै पनि सुधार भएन। सन् १९२६ मा उनको निधन भयो।
डेब्सको मृत्यु भएपछि अमेरिकी समाजवादी दलहरूले राष्ट्रपतीय निर्वाचनमा कहिल्यै उनको जस्तो प्रभाव छाड्न सकेनन्।
लिन्डन लरूश

लिन्डन लरूश विभिन्न कारणले जेल परे र जेलबाटै राष्ट्रपतीय निर्वाचनमा सहभागी भए। उनी अमेरिकाको इतिहासमा धेरै पटक राष्ट्रपतिको चुनावमा उठ्ने व्यक्ति हुन्।
प्रा मोर्गन भन्छन्, “उनले कुनै बेला डेमोक्र्याटका रूपमा चुनावी अभियान चलाए भने अधिकांश समय तेस्रो दलको उम्मेदवारका रूपमा त्यसो गरे। सन् १९७६ देखि २००८ सम्मका प्रत्येक चुनावका मतपत्रमा उनको नाम थियो। यो उनको सोखको विषय थियो।”
सन् १९४० को दशकमा उनी वामपन्थी राजनीतिबाट सक्रिय थिए। तर सन् १९७० को दशकसम्ममा उनको राजनीतिक विचारधारा वामपन्थबाट अतिदक्षिणपन्थमा पुगेको थियो।
प्रा मोर्गन भन्छन्, “डेमोक्र्याटिक र रिपब्लिकन दुवैतिर लागेको हुनाले उनी जेमा पनि षड्यन्त्र भएको देख्थे। उनी षड्यन्त्रसम्बन्धी अनौठा धारणा राख्थे। उनी आफूलाई समाउन रानी एलिजाबेथ लागिपरेको बताउँथे।”
लरूशले विश्वबारेको आफ्नो धारणा र आफ्ना लोकप्रियतावादी नीतिको तालमेलबाट पनि एउटा व्यापक राजनीतिक आन्दोलन अघि बढाउन सकेनन्। उनले मानिसहरूबीच लोकप्रिय हुनसक्ने खालका न्यून कर लगाउने र सरकारले आफ्नै नागरिकहरूको सुराकी नगर्ने सुनिश्चित गर्ने खालका नीतिहरू लागु गर्ने बताउने गरेका थिए।
प्राध्यापक मोर्गनका अनुसार उनको अभियानमा जोडिनेहरू कहिल्यै पनि दुई हजार जनाभन्दा बढी थिएनन्।
तर सन् १९८६ मा उनले समर्थन गरेका उम्मेदवारले इलोनोई राज्यमा आश्चर्यजनक रूपमा डेमोक्र्याटिक नोमिनेसन जितेका थिए। त्यसमध्ये एक जनाले सडकमा ट्याङ्क ल्याउने धम्की दिएका थिए। त्यस बेलाको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सम्भवत: चुनवाका लागि सायद व्यापक पैसा उठाएका थिए।
प्राध्यापक मोर्गन भन्छन्, “कति रकम उठाइयो भन्ने हामीलाई थाहा छैन तर केहीले २० करोड डलर भन्ने गर्छन्। उनले त्यो रकम स्थानीय र राज्य तहका कग्रेसनल चुनावमा उठेका उम्मेदवारका लागि खर्च गरे। त्यसमा एकदमै न्यून सफलता पाए।”
‘मेल फ्रड’ अर्थात् मेल जालसाजीको अभियोगमा उनी सन् १९८९ मा १५ वर्षको सजाय पाएर जेल गए।
प्राध्यापक मोर्गन भन्छन्, “सन् १९९२ को चुनावमा लरुसले आफू पनि चुनावमा उठ्ने निश्चय गरे र केही राज्यका मतपत्रहरूमा उनी देखिए। तर उनले २७ हजार जति मत पाए त्यो भनेको त्यस वर्षको कुल मतको ०.१ प्रतिशत मात्र हो।”
लरुसको सजाय कम गरियो र उनी सन् १९९४ मा जेलबाट छुटे। उनी राष्ट्रपति चुनावमा सन् १९९६, २०००, २००४ र २००८ मा मैदानमा थिए।
प्राध्यापक मोर्गनका अनुसार पैसा जुटाउने क्षमता र लगातार प्रचारप्रसार गर्दागर्दै पनि उनले कहिल्यै पनि खासै प्रभाव पार्न नसकेको बताए।
“लिन्डन लरुस इतिहासको सानो पाद टिप्पणी बाहेक अरु केही पनि होइनन्,” उनले भने।
लरुसको सन् २०१९ मा निधन भयो।
जोसेफ स्मिथ

जोसेफ स्मिथले सन् १८३० मा मोर्मनिजमको स्थापना गरेका थिए। त्यो क्याथोलिक, प्रोटेस्टेन्ट र अर्थोडक्स चर्चहरूले गर्ने विश्वासभन्दा कैयौँ फरक विश्वासमा आधारित एउटा क्रिश्चियन धर्म थियो।
आफ्नो अभियानका सहयोगीहरूलाई नजिक बनाउन उनले बहुविवाहको अभ्यास सुरु गराए।
“उनलाई अनुशरण नगर्नेबीच यो व्यापक रूपमा अलोकप्रिय थियो,” प्राध्यापक मोर्गन भन्छन्।
“यसलाई मौलिक अमेरिकी मूल्यमान्यताका निम्ति खतराको रूपमा हेरिएको थियो। बहुविवाहलाई सबैभन्दा खराब खाले अपराधका रूपमा हेरिएको थियो र स्मिथ स्वयम्का २० वटी पत्नीहरू रहेको बताइन्थ्यो।
स्मिथ मूल रूपमा म्यासाचुसेट्सका थिए तर उनका अनुयायीहरूका लागि सुरक्षित स्थलको खोजीका क्रममा उनीहरूलाई उनले इलोनोईको पश्चिततर्फ लगे।
त्यहाँ मोर्मनहरूले सन् १८४० को प्रारम्भमा आफ्नो आफ्नै सहर बनाए। उनीहरूले मिशिसिपीको किनारमा नउभू नामक सहर बनाएका थिए। त्यहाँ उनीहरूले शान्तसँग बस्ने र आराधना गर्ने आशा गरेका थिए।
स्मिथलाई त्यहाँको मेयरको रूपमा निर्वाचित गरियो र मोर्मोन मिलिशिया पनि बनाइयो।
“तर समस्या के भयो भने स्मिथ मोर्मनिजम भित्रै व्यापक विभाजनकारी व्यक्ति थिए। उनको बहुविवाह गर्ने चलनका कारण जसका पत्नीहरूलाई उनले आफ्नो बनएका थिए ती अन्य मोर्मनहरू उनका दुस्मन बनेका थिए।”
स्मिथले आफ्नो मिलिशियालाई स्मिथविरोधी एउटा अखबारको छापाखाना नष्ट गर्न आदेश दिए। त्यसले अन्ततः उनलाई इलोनोईको कार्थेज जेलमा पुर्यायो।
उनले सन् १८४४ को राष्ट्रपतीय निर्वाचनमा रिफर्म पार्टीको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरे।
उसको मोर्मनमा आधारित पार्टीले शक्ति सन्तुलन राख्ने आशा गर्यो र त्यसले बहुविवाह र स्मिथका विचारहरूलाई बढावा दियो र हरेक व्यक्ति वास्तविक रूपमा ईश्वर हो भन्यो।
तर दासत्वको क्रमशः मुक्तिप्रति उक्त पार्टीको विश्वासले उनीहरूलाई अझ धेरै मानिसहरूको शत्रु बनायो।
“उत्तरमा त्यस बेला उन्मूलनवाद धेरै नै अलोकप्रिय थियो र गैरमोर्मन उन्मूलनवादीहरू समेत उन्मूलनका लागि बोल्दा आफ्नो जीवनलाई खतरामा पारिरहेका थिए,” प्राध्यापक मोर्गन भन्छन्।
कार्थेजस्थित उनलाई राखिएको जेल बाहिर एउटा भिड जम्मा भयो। त्यो भिडबाट उनी र शरण खोज्दै गरेका अर्का एक कैदीलाई गोली हानेर मारियो।
प्राध्यापक मोर्गन भन्छन्, “त्यसपछि उनको शवलाई अझ धेरै पटक गोली हान्न तत्काल फायरिङ स्क्वाडको आयोजना गरियो।”
उनको दलले सन् १८४४ को चुनावमा वैकल्पिक उम्मेदवार खडा गरेन।
त्यसै कारणले अन्य तीन जना पनि जेलबाट उक्त पदका लागि चुनावी मैदानमा रहेका राष्ट्रपति उम्मेद्वारहरू छन्। यदि नोभेम्बरमा जोसेफ माल्डोनाडो-प्यासेज पनि चुनाव लडे भने ती चौथा उम्मेदवार हुन सक्छन्।
जो एक्जोटिकका रूपमा पनि चिनिने सन् २०२० को नेटफ्लिक्स डकुमेन्ट्री टाइगर किङ्गका स्टारले डेमोक्र्याटका रूपमा राष्ट्रपतिको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले हाल पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकलाई मार्ने षड्यन्त्र गरेको आरोपमा २० वर्ष भन्दा बढीको जेल सजाय काटिरहेका छन्।
यदि उनी जेल गए भने उम्मेद्वारको रूपमा ट्रम्पको स्थिति अनौठो हुने छैन तर उनी जेलबाट राष्ट्रपति पदको लागि चुनावी मैदानमा उत्रने सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व हुनेछन्।
यदि उनले जेलको समयलाई बेवास्ता गरे पनि बीबीसीका उत्तर अमेरिका संवाददाता जोन सुडवर्थका शब्दमा विभाजित राष्ट्रको आधा मानिसका लागि एक दोषी अपराधीलाई उम्मेद्वार बनाइएको हुनेछ।बीबीसी नेपालीबाट










