दलित आयोगले गर्‍यो ‘पूजार सार्की’ हेर्न आह्वान, नेताहरु भन्छन्, ‘फिल्मले झस्कायो’

कोल्हवी न्यूज
२०८१ जेष्ठ १८, शुक्रबार १७:२६ गते

जातीय विभेदविरुद्धको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पूजार सार्की’लाई सबैले हेर्न राष्ट्रिय दलित आयोगले आह्वान गरेको छ । बिहीबार फिल्मका निर्माता सुभाष भुसाललाई सम्बोधन गर्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा जारी विज्ञप्तिमा फिल्मले शिक्षा दिने र समाज परिवर्तनको सन्देश प्रवाह गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फिल्ममा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ। शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । ‘पूजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ। नेपालका जातीय रुपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश फिल्मले बोकेको छ ।’

फिल्मका लेखक विकास सुवेदीले राज्यको कुनै निकायले पहिलोपटक नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको बताए । उनी भन्छन्, ‘राज्यले पञ्चायतकलामा आफ्नो प्रचारको लागि फिल्ममा लगानी गर्थ्यो । फिल्ममा निजी क्षेत्र आइसकेपछि पहिलोपटक यो विशेष फिल्म हो भनेर विज्ञप्ति नै जारी गर्नु सुखद हो ।’ फिल्मले राज्यले बोल्नुपर्ने विषय बोलेको उनको जिकिर छ ।

‘पूजार सार्की’का निर्देशक दिनेश राउतले फिल्म बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए । उनले भने- ‘यो फिल्म दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पुर्याउने छौँ । संसारभरका नेपालीमाझ पनि पुर्‍याइरहेका छौँ ।’

यसैबीच, बुधबार ठमेलस्थित छायाँ सेन्टरमा आयोजित विशेष शोमा दुई दर्जन राजनीतिज्ञले फिल्म हेरेका थिए । प्रतिनिधि सभा सदस्यहरु सन्तोष परियार, ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्वखेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली लगायतले फिल्मको कथावस्तुले झस्काएको प्रतिक्रिया दिएका थिए । फिल्म सन्देशमुलक बनेको उनीहरुको धारणा थियो ।

दोस्रो हप्तामा पनि उच्च शोजसहित प्रदर्शन भइरहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय छ । विशेषगरी शनिबारसहितको तीन दिनको विदामा फिल्मले राम्रो कमाई गरेको थियो । अब फिल्मको टिम मोफसलका दर्शकसँग भेट गर्न दाङ, धनगडी र नेपालगञ्ज जाने तयारीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*