विश्वकप नजिकिँदा क्यानडाका मुख्य प्रशिक्षक पुबुदु बर्खास्त
क्यानडाले टी–२० विश्वकपको संघारमा आफ्ना मुख्य प्रशिक्षक पुबुदु दासानायेकेलाई बर्खास्त गरेको छ। विगत दुई वर्षदेखि क्यानडाको मुख्य प्रशिक्षकका रुपमा रहेका पुबुदु त्यसअघि दुई पटक नेपालको प्रशिक्षकका रुपमा रहेका थिए।
श्रीलंकन मुलुकका क्यानडियन नागरिक पुबुदु सन् २०२२ को जुलाईमा क्यानडाको प्रशिक्षकको रूपमा दोस्रो कार्यकालका लागि फर्किएका थिए। त्यसअघि नेपालको दुई पटक र संयुक्त राज्य अमेरिकाको एक पटक प्रशिक्षकका रुपमा रहेका थिए।
क्यानडाको प्रशिक्षकका रुपमा पुनः फर्किएपछि उनले टोलीलाई सफलतापूर्वक अमेरिकाको टी–२० क्षेत्रीय फाइनलमार्फत विश्वकप पुर्याएका थिए। साथै उनले २०२३ को विश्वकप क्वालिफायरसँगै टिमको एकदिवसीय वरियतासमेत फिर्ता ल्याउन सफल भएका थिए। क्यानडाले क्रिकेट वर्लड कप च्यालेन्ज (सिडब्लुसी)बाट सिडब्लुसी लिग–२ मा पुर्याएका थिए। अहिले क्यानडा लिग–२ को शीर्ष स्थानमा कायम छ।
पछिल्लो समय नवनिवार्चित उपाध्यक्ष गुरदीप क्लेरले मौखिक रूपमा उनलाई हटाइएको जानकारी दिएको क्रिकेट बजले उल्लेख गरेको छ। अहिले क्यानडियन टिम सेन्ट किट्समा तयारी गरिरहेको छ। क्रिकेट बजका अनुसार दसानायेकेसँग असन्तुष्ट केही खेलाडीले क्यानडाको क्रिकेट संघलाई पत्र पठाएको र उक्त पत्र खेलाडीहरुबीच आदान–प्रदान गरिएको दाबी गरिएको छ।
यद्यपि, कुनै पनि खेलाडीले आफ्नो नाम राख्न स्वीकृति भने दिएका थिएनन्। विश्वकपका लागि खेलाडीको छनोटलाई लिएर त्यहाँका क्रिकेट पधाधिकारी र पुबुदुबीच सम्बन्ध चिसिएको दाबीसमेत गरिएको छ।
विश्वकपमा अब क्यानडाको प्रशिक्षकको जिम्मा कसले पाउने भन्ने तय भने भएको छैन। क्यानडाले ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा १ जुनमा आयोजक अमेरिकासँग डलासमा खेल्दै छ।










