परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार : पेटबाट एउटा गोली निकालियो, एक पक्राउ

कोल्हवी न्यूज
२०८१ बैशाख २१, शुक्रबार १६:४४

झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ।

उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ।

घाइते एनिकाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन्। उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए।

‘अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन। प्रहरीले घटनाबारे बुझ्दैछ’, एसपी केसीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*