विश्वकप टोलीमा फर्किए ऋषभ

दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बालबाल बचेपछि भारतीय क्रिकेटर ऋषभ पन्तले ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए
कोल्हवी न्यूज
२०८१ बैशाख १९, बुधबार ०७:३१ गते

 १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् ।

उच्चस्तरको क्रिकेटमा फर्किएयता २६ वर्षे पन्तले राम्रो प्रभाव पारेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ खेलमा ३ सय ९८ रन बनाइसकेका छन् । भेट्रान विकेटकिपर केएल राहुलको स्थानमा पन्तलाई ल्याइएको हो । रोहित शर्माको कप्तानीमा रहने भारतीय टोलीमा उच्च दबाबमा रहेका हार्दिक पाण्ड्ये उपकप्तान रहेका छन् ।

सन् २०२२ को डिसेम्बरमा दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बाँचेपछि पन्तले त्यसलाई ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए । उनको मर्सिडिज कार रेलिङमा ठोक्किएर पल्दिँदा आगो लागेको थियो । प्रत्यक्षदर्शीले पन्तलाई कारबाट निकालेर उद्दार गरेका थिए ।

‘जुन हिसाबमा म चढेको कार दुर्घटना भयो, त्यसका बावजुत जीवन पाउँदा म भाग्यमानी ठान्छु,’ पन्तले डिसेम्बरमा भनेका थिए,

‘शारीरिक हिसाबमा भन्ने हो भने पहिलो चरणको उपचार निकै चुनौतीपूर्ण थियो । मलाई धेरै पीडा भइरहेको थियो ।’ उक्त कार दुर्घटनाका कारण उनको दाहिने घुँडाको लिगामेन्ट खराब भएको थियो भने नाडी, एङ्कल र ढाडमा चोट लागेको थियो ।

बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा उनी रिहाबिटेसनका लागि वैशाखी टेकेर नै पुगेका थिए । गत वर्ष उनको अनुपस्थितिमा अस्ट्रेलियाका ओपनर डेविड वार्नरले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए । यसै सिजन मैदान फर्किएका पन्तले नै अहिले दिल्लीको नेतृत्व गरिरहेका छन् ।

कार दुर्घटनापछिको पहिलो खेलमै उनले ३२ बलमा ५१ रन बनाएपछि उनलाई दर्शकले उठेर न्यानो अभिवादन गरेका थिए । सन् २०१७ मा ‘डेब्यु’ गरेयता पन्तले भारतबाट टेस्ट, एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १ सय २९ खेल खेलिसकेका छन् ।

भारतको विश्वकप टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवको जिम्मेवारीमा हुनेछ । ओपनर शुभमन गिललाई चार वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । एकदिवसीय विश्वकपमा चोटग्रस्त हार्दिक पाण्ड्ये त्यसपछि भारतीय टोलीमा फर्किएका हुन् । आईपीएलमा गुजरात टाइटन्स छाडेर रोहित शर्माको स्थानमा मुम्बईको कप्तान भएयता उनी विवादले घेरिएका छन् । भारतीय टोली ः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्ये (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*