५ सय महिला लेखकका पुस्तक एकसाथ प्रदर्शनीमा

कोल्हवी न्यूज
२०८१ बैशाख १३, बिहीबार १७:२२

 पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ भइरहेको छ । ११ वैशाखदेखि सुरु भएको प्रदर्शनीमा ५ सयजना भन्दा बढी महिला लेखक तथा अनुवादकका किताब राखिएका छन् ।

प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

प्रदर्शनमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लेखनमा आउने महिलालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । उनले महिला सशक्तिकरणमा लेखनले ठूलो प्रभाव पार्ने बताइन् ।

‘मनमा आएका अभिव्यक्ति शब्दमा उतार्न सजिलो छैन । शब्दका अभिव्यक्तिलाई संगालो बनाउन त झन कठिन छ । यस कर्ममा क्रियाशील महिलाहरुलाई सम्मान र लेखन कलामा आउन चाहने महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ’, उनले भनिन् ।

प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ विषयक संवाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । संवादमा पारिजातलाई चिनेका र संगत गरेका व्यक्तित्वलाई बोलाएर उनको स्मृतिमा ‘पारिजात कस्ती हुनुहुन्थ्यो ?’ अनुभव सुनाउन लगाइन्छ ।

संवादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*