रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

कोल्हवी न्यूज
२०८१ बैशाख ७, शुक्रबार १६:४७ गते

 अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ ।

युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रियरूपमा आफ्नो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका ती अस्ट्रेलियालीहरू नागरिक परिषद्का सदस्य भएको मस्कोले बताएको छ ।

“सामूहिक पश्चिमको रुसोफोबिक अभियानको हिस्साका रूपमा अस्ट्रेलिया सरकारले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि लगाएको राजनीतिकरूपले प्रेरित प्रतिबन्धको जवाफमा सक्रियरूपमा हाम्रो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका दुई सय ३५ अस्ट्रेलियाली नगरपालिकाका सदस्यहरूलाई रुसमा प्रवेश गर्न अनिश्चितकालका लागि अस्वीकार गर्ने निर्णय गरिएको छ”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

यसका साथै यी अस्ट्रेलियालीमा पूर्व भिक्टोरियाली प्रधानमन्त्री ड्यानियल एन्ड्र्युज र भिक्टोरियाली विपक्षी नेता जोन पेसुट्टो पनि रहेको छ । विज्ञप्तिअनुसार अब यी अस्ट्रेलियालीलाई रुसी सङ्घ प्रवेशमा वञ्चित गरिएको छ ।

क्यानबेराले आफ्नो रुसविरोधी धारणा त्याग्ने र नयाँ प्रतिबन्ध जारी राख्नेबारे कुनै सङ्केत नदेखाएकाले मन्त्रालयले अस्ट्रेलियालीहरूको सूची थप अद्यावधिक गर्ने जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेपछि धेरै मुलुकले रुसी व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध जारी गरेका छन् र रुससँग आयात तथा निर्यातमा प्रतिबन्ध लगाएका छन् ।

युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि रुसी खतराको जवाफमा अस्ट्रेलियाले रुसका सम्बन्धमा प्रतिबन्धहरू लगाएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*