अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्म छैनन्: अनमोल केसी

कोल्हवी न्यूज
२०८१ बैशाख ६, बिहीबार १७:०८

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतीपूर्ण रहेको बताए।

उनले आफ्ना लभ स्टोरी चलचित्रहरु दर्शकहरुले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गरे। उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए।

उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए। उनले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताए।

उनले भने, ‘मेरा लागि यो प्रोजेक्ट नयाँ किसिमको र चुनौतिपूर्ण थियो । मेरो अडियन्सले लभ स्टोरी रुचाउनुभएको छ । त्यसलाई नै मैले अहिले पस्किएको छु । यो ट्रेलरमा स्टोरी खुलाएका छैनौँ । दोस्रोमा धेरै खुल्नेछ । अरु एक्टरहरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु पनि छैन । प्लान पनि त्यस्तो केही गरेका छैन । यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैँलाई थाहा छैन । यसको रिजल्ट जे हुन्छ, त्यही अनुसार म मेरो अर्को फिल्म डिसाइड गर्छु ।’

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*