२७ अर्ब डलर हिनामिना गरेकी भियतनामकी महिला अर्बपतिलाई दिइयो मृत्युदण्ड

कोल्हवी न्यूज
२०८० चैत्र २९, बिहीबार १६:५४

इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको मानिएको २७ अर्ब डलर अपचलको आरोप लागेकी भियतनामकी एक अरबपति महिलालाई त्यहाँको न्यायालयले फाँसीको सजाँय सुनाएको छ ।

गत एक दशकको बीचमा साइगन कमर्सियल बैंक (एससीबी)बाट नगद रकम ठगी गरेको आरोप भान थिन्ह फाट कम्पनीकी अध्यक्ष ट्रुङ माई ल्यानलाई बिहीवार फाँसीको सजाँय दिइएको हो ।

भियतनामको उच्च अदालतमा उक्त मुद्दाको सुनुवाई गरिरहेको पाँच सदस्यीय इजलासले ल्यानको सबै प्रतिरक्षा तर्कलाई अस्वीकार गरेको थियो ।

‘प्रतिवादीको कार्यले कम्युनिष्ट पार्टी र राज्यको नेतृत्वमा जनताको विश्वास घटाएको छ,’ ल्यानलाई मृत्युदण्ड दिने फैसलामा भनिएको छ ।

सुनुवाइको क्रममा ल्यानले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् र सबै दोष बैंक र आफ्नो कम्पनीका कर्मचारीमाथि लगाएकी थिइन् ।

भियतनामको व्यापारिक केन्द्र मानिने हो ची मिन्ह सहरमा गत पाँच हप्तासम्म चलेको सुनुवाइमा उनलाई दोषी ठहर्याइएको हो । उनलाई घुसखोरी, शक्तिको दुरुपयोगदेखि लिएर बैंकिङ कानूनको उल्लङ्घन गरेर अकूत सम्पत्ति थुपारेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।

शुरूमा ल्यानले १२ दशमलब ५ अर्ब हिनामिना गरेको आरोप लागेको थियो तर सुनुवाइका क्रममा सरकारी अभियोजकहरूले उक्त हिनामिनाले २७ अर्ब डलर क्षति गरेको आरोप लगाएका थिए, जुन भियतनामको कूल गाहर्स्थ उत्पादनको ६ प्रतिशत हो ।

स्थानीय सञ्चारमाध्यमले यस्तो अवस्थामा मृत्युदण्ड असाधारण रूपमा गम्भीर सजाय रहेको टिप्पणी गरेका छन् ।

उनी र अन्यलाई ‘राष्ट्रिय भ्रष्टाचार निर्मुल’ अभियानका क्रममा पक्राउ गरिएको थियो । उक्त अभियानले हाल भियतनामका धेरै व्यापारिक सम्भ्रान्त वर्गका अधिकारी र सदस्यलाई फसाएको छ ।

ल्यानले गत हप्ता अदालतमा अन्तिम बयान दिँदै आफूले आत्महत्या गर्ने विचार गरेको बताएकी थिइन् ।

‘यो सबै निराशाका कारण मैले मृत्युको बारेमा सोचें,’ उनको बयान उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बयानका क्रममा उनले आफूलाई बैंकिङ ज्ञान अत्यन्त कमजोर रहेकोसमेत बताएकी थिइन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*