केजरीवाल पक्राउबारे अन्ना हजारेको प्रतिक्रिया : कर्मको फल पाए

कोल्हवी न्यूज
२०८० चैत्र ९, शुक्रबार १६:४१ गते

 दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा घोटालामा पक्राउ परेपछि यतिबेला दिल्लीको राजनीति निकै तरङ्गित भएको छ । आम आदमी पार्टी (आप)का शीर्ष नेता पक्राउ परेपछि दलका कार्यकर्ताहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका छन् ।

कानुन कार्यान्वयन गराउने भारतको सरकारी निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले बिहीबार मुख्यमन्त्री निवासबाटै केजरीवाललाई पक्राउ गरेको थियो । उनको गिरफ्तारी पछि भारतीय गठबन्धनका नेताहरूले केन्द्र सरकारलाई घेरेका छन् । सामाजिक कार्यकर्ता अन्ना हजारेले भने केजरीवालले कर्मको फल पाएको अनि यसकै कारण समातिएको बताएका छन् ।

‘अरविन्द केजरीवाल कुनैबेला मसँग काम गर्थे । उनी पक्राउ परेको देखेर म निकै दुःखी छु । उनले मदिराविरुद्ध आवाज उठाएका थिए, अहिले उनी आफैँले मदिरा नीति बनाइरहेका छन् । उनी आफ्नै कर्मको फलका कारण समातिएका हुन्,’ केजरीवालको  गिरफ्तारीप्रति प्रतिक्रिया दिँदै अन्ना हजारेले भने।

आफूले केजरीवाललाई यस्तो नीति खालको लागू नगर्न चेतावनी नै दिएको पनि उनले बताएका छन् । ‘मैले भनेकै थिए कि हाम्रो काम मदिराको नीति बनाउने होइन । सानो बच्चालाई पनि मदिरा नराम्रो हो भन्ने कुरा थाहा हुन्छ । तर पनि उनले नीति बनाए । यसबाट धेरै पैसा कमाइन्छ भन्ने उनीहरूले सोचे, यही कारण उनीहरूले यो नीति बनाए । यसबारे मैले उनलाई दुई पटक चिठी पनि लेखेको थिएँ,’ अन्नाले भनेका छन् ।

मदिरा घोटालामा अरविन्द केजरीवाल बाहेक विजय नायर, अभिषेक बोइनपल्ली, समीर महेन्द्र, पी सरथ चन्द्र, विनय बाबु, अमित अरोरा, गौतम मल्होत्रा, राघव मंगुता, राजेश जोशी, अमन ढल, अरुण पिल्लई, मनिष सिसोदिया, दिनेश अरोरा, सञ्जय सिंह, के. कविता पनि पक्राउ परिसकेका छन् ।

सन् २०११ मा अन्ना हजारेले जनलोकपाल बिल आन्दोलन गर्दा केजरीवाल हजारेको कोर टिममा थिए । यहीबाट केजरीवाल चर्चामा आएका हुन् । अन्ना हजारेले नयाँ दिल्लीको जन्तर मन्तरमा अनशन सुरु गरे । यस अवधिमा केजरीवाल भने किरण बेदीसँग मिलेर विदेशमा रहेको भारतीयहरूको कालो धन स्वदेश फिर्ता ल्याउन तत्कालीन सरकारलाई घेरा हालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*