भारतमा पतिसँगै रहेकी स्पेनिस युवतीमाथि सामूहिक बलात्कार
भारतको झारखण्डस्थित दुम्का जिल्लामा स्पेनिस युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कारपछि लुटपाट र कुटपिट पनि भएको प्रहरीले जनाएको छ ।
घटना मार्च १ मा भएको हो । घटना हुँदा युवतीको श्रीमान पनि सँगै थिए
बीबीसी हिन्दीका अनुसार दुम्काका एसपी पीताम्बर सिंह खेरवारले अहिले स्पेनी युवती र उनका श्रीमानलाई प्रहरी संरक्षणमा राखिएकाे जानकारी दिए ।
एसपी खेरवारले भने, ‘शुक्रबार राति हंसडिहा प्रहरी चौकीको गस्ती टोली कुर्महाट हुँदै गइरहेको बेला स्पेनी दम्पतीले प्रहरी टोलीलाई रोकेर आफूमाथि भएको घटनाबारे जानकारी गराएका थिए । त्यहाँका प्रहरीलाई उनीहरुको भाषा बुझ्न कठिन भएको थियो । यति हुँदाहुँदै पनि गस्ती टोलीले उनलाई नजिकैको अस्पतालमा पुर्यायो, किनभने उनी घाइते थिए र रगत बगिरहेको थियो । उनलाई सामुदायिक स्वास्थ्य केन्द्र सरैयाहाटमा प्राथमिक उपचार गरिएको थियो ।’
आफूमाथि सामूहिक बलात्कार भएको र घडी आदि लुटिएको पीडित महिलाले बताएकी थिइन् ।
उनीहरुबाट प्राप्त जानकारी र अभियुक्तको उपस्थितिका आधारमा राति नै तीन जनालाई पक्राउ गरेको खेरवारले बताए ।
घटना कसरी घट्यो ?
एक स्थानीय पत्रकारका अनुसार युवती र उनको श्रीमान् दुई फरक बाइकमा हंसडिहा हुँदै बिहारको भागलपुर जाँदै थिए । तर, बाटोमै रात परेको हुनाले कुर्महाट नजिकैको सडकमा टेन्टमा बसेका थिए ।
त्यसपछि नजिकैका केही युवाहरू उनीहरु बसेको टेन्टमा पुगे र घटना भयो ।
पीडित युवती र उनका श्रीमानलाई सरैयाहट अस्पतालमा भर्ना गरिएको छ ।