प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीकाे बराबरी, लिभरपुलले ब्रेन्टफोर्डलाई हरायाे
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले एक/एक गोलको बराबरी खेलेका छन् ।
चेल्सीले खेलको पहिलो हाफमा बनाएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन । चेल्सीका रहिम स्टर्लिङले खेलको ४२ औँ मिनेटमा गोल गरेका थिए । तर सिटीका रोड्रीले ८३औँ मिनेटमा गोल फर्काए । बराबरीसँगै सिटी र चेल्सीले अङ्क बाँडेका छन् ।
सिटी २४ खेलमा ५३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चेल्सी २५ खेलमा ३५ अङ्कसहित दशौँ स्थानमा छ ।
यस्तै, हिजो भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई हराएको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोलले हराएको हो । जितसहित लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग दुई अङ्कको अग्रता बनाएको छ ।
लिभरपुलले २५ खेलबाट ५७ अङ्क जोडेको छ । समान खेलमा आर्सनलको ५५ अङ्क छ । आर्सनलले हिजै बेलुका भएको खेलमा बर्नलीलाई ५–० गोलले हराएको हो ।
यस्तै, उल्भ्सले टोटेनहमलाई २–१ गोलले पराजित गर्दा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोलले हरायो । यस्तै, नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २–० गोलले हरायो । न्युक्यासल युनाइटेड र बर्नमाउथले २–२ को बराबरी खेले ।










