बाराको कोल्हवीमा रहेको पातालगङगा सिमसार क्षेत्र संरक्षीत सङै पर्यटकीय क्षेत्रको रुपमा विकास हुने

कोल्हवी न्युज
२०८० माघ २१, आईतवार २०:५१ गते

कोल्हवी:बारा जिल्लाको महत्त्वपूर्ण सिमसार क्षेत्र संरक्षण गर्ने तथा पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघीय सरकारको ४८ करोड लगानीमा बारामा ताल निर्माण हुने भएको छ । संघीय वन तथा वातावरण मन्त्रालयको लगानीमा बाराको कोहल्वी नगरपालिका वडा नं २ स्थित पातालगंगा सिमरासार क्षेत्रमा ताल निर्माण गर्न लागिएको हो ।

पातालगंगा पानीका मुहानहरू बाह्रै महिना नसुक्ने १ दर्जन बढी कुलो तथा खोल्साहरू भएको ठाउँ हो । यो राष्ट्रिय वन क्षेत्रभित्र पर्दछ । पातालगंगा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरूको महत्त्वपूर्ण वासस्थानका साथै जैविक विविधताले भरिपूर्ण क्षेत्र समेत हो । यहाँ जंगली हात्तीहरू पानी पिउन र प्रजनन सम्बन्धी क्रियाकलाप गर्न आउँछन् ।

यो पूर्व–पश्चिम राजमार्ग देखि ८ किलोमिटर दक्षिण तर्फ जडीबुटी प्रशोधन कम्पनी लिमिटेड तामागढीको कार्यालयदेखि ५ सय मिटर पश्चिम र उत्तरमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सिमाना पर्दछ । यसको पूर्वतर्फ गाउँबस्ती रहेको छ ।

पातालगंगा २ सय ५७ हेक्टरमा फैलिएको छ । त्यसमध्ये एक सय ३३ हेक्टर झाडी र बुट्यानले भरिएको छ । बाँकी एक सय २४ हेक्टरमा केही भाग सिमसारले ओगट्दा बाँकी खाली छ । स्थानीय सरकार, सहजनाथ साझेदारी वन र डिभिजन वन कार्यालयसमेतले चासो देखाएको यो ठाउँलाई विशाल तालको रूपमा विकास गर्न सक्ने पर्याप्त सम्भावना रहेको डिभिजन वन अधिकृत विनोद सिंहले बताए ।

हाल तालको डीपीआर तयार भएर प्रदेश वन मन्त्रालय पठाइएको छ । तालको प्रारम्भिक काम सुरु गर्न चालु आर्थिक वर्षमा संघीय वन मन्त्रालयबाट २० लाख बजेट निकासा भइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा संघीयता र योजनाका विज्ञ डा. खिमलाल देवकोटाको पहलमा सो ठाउँमा प्राकृतिक ताल निर्माण गर्नुपर्ने अवधारणको सुरु भएको हो । देवकोटा कोल्हवीका स्थानीयवासी समेत हुन् । उनले छिमेकी जिल्ला सर्लाहीमा मानव निर्मित ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको देखेपछि कोल्हवीको पातालगंगामा पनि ताल निर्माण गर्न सकिने प्रस्ताव योजना आयोगमा लगेका थिए ।

करिब ३ वर्षअघि प्रारम्भिक अध्ययन गरेर पातालगंगामा प्राकृतिक ताल निर्माण गर्न सकिने प्रस्ताव योजना आयोगमा प्रस्तुत गरेर तत्कालीन डिभिजन वन अधिकृत मन्जुर अहमदलाई आयोगले सो क्षेत्रमा ताल निर्माण गर्दा वन्यजन्तुको वासस्थान क्षेत्रमा पर्न सक्ने जोखिम र जैविक विविधतामा के कस्तो असर पर्छ/पर्दैन थप अध्ययन गर्न निर्देशन दिएको थियो ।

तत्कालीन बाराका डिभिजन वन अधिकृत अहमदले राष्ट्रिय योजना आयोगमा आफूले प्रस्तुत गरेको प्रतिवेदनमा आयोगले जैविक विविधता र वन्यजन्तुको वासस्थानको विषय उठेपछि थप अध्ययनको काम सुरु भएको बताए ।

उनले भने, ‘हामीले पातालगंगाको माथिल्लो क्षेत्रलाई नमास्ने र जडीबुटी कारखानासँग जोडिएको तल्लो खाली भूभागमा प्राकृतिक ताल बनाउने प्रस्ताव गरेका छौँ । प्रस्तावनामा उल्लेख भएअनुसार भयो भने यो ताल सर्लाहीको भरत तालभन्दा ठुलो हुन्छ ।’

कोल्हवी नगरपालिका उपप्रमुख लक्ष्मीकुमारी चौधरीले पातालगंगा कोल्हवी नगरपालिकाको मुख्य पानीको श्रोत भएको बताएकी छिन् । ‘पातालगंगाको पानीले यहाँका किसानहरूलाई धेरै फाइदा पुगेको छ, धेरै टाढा टाढाबाट यहाँ पिकनिक खान आन्तरिक तथा भारतीय पर्यटकहरू पातालगंगाको नामै सुनेरै आउँछन्,’ चौधरीले भनिन्, ‘अहिले ताल बन्नु अगाडी नै हाम्रो नगरपालिकामा घुम्न धेरै पर्यटकहरू आइरहेको छ, ताल बनेपछि अझ धेरै राम्रो हुने आशा छ ।’

जैविक विविधताको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने, भूमिगत पानीका मुहानहरू रिचार्ज प्रक्रियालाई अभिवृद्धि गर्ने, वर्षातको पानी भण्डारण गरेर हिउँद तथा गृष्म याममा सिँचाइ सुविधा पुग्ने गरी जल भण्डार गर्ने र राष्ट्रकै नमुना सिमसारजन्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले पातालगंगा सिमसार क्षेत्रमा ताल निर्माण गर्न लागिएको वन कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

पातालगंगाको जैविक विविधता संरक्षण गर्दै पर्या–पर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारी र विकाससँग जोड्ने योजना रहेको कोल्हवी नगरपालिका उपप्रमुख चौधरीको भनाई छ ।

गर्मी याममा अन्य खोलाहरू सुक्ने हुँदा यहाँका वन्यजन्तुको तिर्खा मेटाउने काम पातालगंगाले गर्दछ । यसै सिमसार क्षेत्रसँग जोडिएर कोल्हवी र आसपासका स्थानीय माछापालन समेत गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले कोल्हवी पातालगंगामा ताल निर्माण हुँदा यसैको पानीले भारतीय सीमा क्षेत्रसम्मका किसानहरू लाभान्वित हुने बताएका छन् ।

‘पातालगंगा निर्माण हुँदा सिमसारजन्य वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि अनुसन्धान स्थलको निर्माण हुन्छ,यसले ग्राउन्ड वाटर सिञ्चित गर्दछ’ डिभिजन वन अधिकृत सिंहले भने ‘यो सिमसार क्षेत्र जंगली हात्ती र हजारौँ, लाखौँ चराचुरुङ्गीको वासस्थान क्षेत्र भएकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आउन सक्छन् ।रतोपाटी बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*