टेलियाले कर तिर्न दिएको ४०० मिलियन डलर अपचलन भएको खुलासा, आजियटा र सतिशविरुद्ध मुद्दा दर्ता
दूरसञ्चार सेवा प्रदायक एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ) हालै बाँडेर लिएको भन्दै एनसेलको पछिल्लो मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकहरुविरुद्ध विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्वन्धी ‘क्रिमिनल केस’ दर्ता गरिएको छ ।
मलेसियाको सरकारी स्वामित्वको बहुर्राष्ट्रिय कम्पनी आजियटाले अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनलाई चुनौति दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याई आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य भएको बताउँदै आज बुधबार मुद्दा दर्ता गरिएको हो ।
गोकुलबहादुर रोकायाको नाममा उच्च अदालत पाटनमा दर्ता भएको रिट निवेदनअनुसार आजियटा र सतिशको कार्य नेपालको अहिलेसम्मको इतिहासमै ठूलो अपराधिक कार्य भएको र यसबाट सार्वजनिक सम्पत्ति हिनामिना पनि भएको छ । स्रोतका अनुसार यसबाट नेपालले पाउनुपर्ने चार सय मिलियन डलर आजियटा र सचितलाल सम्पत्तिले अपचलन गरेका छन् । त्यसको बदलामा उनीहरुले एनसेलको नाममा ऋण लिएर र एनसलको पैसाबाट पुँजीगत लाभकर तिर्नु सरासर गैरकानुनी कार्य हो ।
टेलियाले कर तिर्न दिएको चारसय मिलियनमध्ये ८० प्रतिशत रकम आजियटाले र बाँकी २० प्रतिशतले हुने ९० मिलियन सतिशलाल आचार्यले राखेका छन् जुन सरासर गलत काम हो । आचार्य एनसेलको स्थानीय साझेदार सुनिभेरा भेन्चर क्यापिटल प्रा.लि.की सञ्चालक भावना सिंह श्रेष्ठको पति हुन् । यस्तो कम्पनीहरुले तिर्ने मुख्य करमा पुँजीगत लाभकर शेयर खरीद बिक्री गर्नेले तिर्छ भने र सेक्टन ५७ अनुसारको कर कम्पनी (एनसेल)ले तिर्नुपर्छ । तर एनसेललाई टेलियाले दिएको चारसय मिलियनमध्ये कुनै पनि रकम नपठाई एनसेलमाथि नै भार थपेर सरकारलाई लाभकर बुझायो । कर सरकारी खातामा आएपछि नेपालको कर प्रशासन र अदालत पनि मौन बस्यो । तर यसको वास्तविक पक्ष खोज्न कसैले प्रयास गरेन् । जबकी लाभकर तिर्ने बेलामा नै सन् २०१५–१६ तिर एनसेको खातामा पर्याप्त रकम हुँदाहुँदै तीन वटा बैंकहरुबाट ४० लाख रुपियाँ ऋण लिएर कर तिर्ने काम भएको छ ।
एनसेलको शेयर खरीद बिक्री प्रकरण निकै पेचिलो बन्दै गएको छ । यो खरीद बिक्री मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र उनका छोरा जयदेव देउवा गएको नोभेम्बर १७ मा एसटू ४३९ नम्बरको सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर पुगेका थिए । उनीहरुको रोहबरमा नै आजियटा र सतिशलाल पक्षबीच शेयर किनबेच गर्ने मोडालिटी टुंगिएको थियो ।
टेलिया सोनेरासँग भएको खरीद–बिक्रीको मूल्यभन्दा निकै घटेर नेपालकै स्थानीय साझेदारद्धारा बेलायतमा खडा गरिएको नयाँ कम्पनीको नाममा आजियटाले ८० प्रतिशत शेयर बिक्री गरेको समाचार गत शुक्रबार बाहिर ल्याइएको थियो जुन दिन उच्च अदालत पाटनले यससम्वन्धी परेको मुद्दामा आदेश सुनाउँदै थियो । एनसेलको शेयर खरीद बिक्री हुन लागेका समाचार आएपछि यसलाई रोक्न अदालतमा मुद्दा परेको थियो भने नियामक दूरसञ्चार प्राधिकरणले पनि सोही दिन आफ्नो अनुमतिबिना शेयर किनबेच गैरकानुनी हुने भन्दै पत्र लेखेको थियो ।
तर आजियटा र एनसेलले हतार हतार सोही दिनमा शेयर किनबेच भएको भन्दै संयुक्त विज्ञप्ति जारी गर्यो । उक्त दिन उच्च अदालत पाटनले दिउसो एनसेलको शेयर खरीद बिक्रीसम्वन्धमा कारण देखाउ खादेश जारी गरेको थियो भने सोही दिन दिउसो नै प्राधिकरणले पनि एनसेललाई पत्र लेखिसकेको थियो । तर अदालतको आदेश र प्राधिकरणको पत्र आउनुभन्दा अघि नै शेयर किनबेच भइसकेको देखाउन आजियटा र सतिशलालले हतार हतार निर्णय गरेर विज्ञप्ति निकालेका थिए । सिंगापुरको स्थानीय समयअनुसार बेलुकी ६ बजे निर्णय गरेर जारी गरिएको विज्ञप्ति अदालतको आदेश आउनुभन्दा र प्राधिकरणको पत्र आउनुभन्दा पछाडिको रहेको स्रोतको भनाई छ ।
यद्यपि आरजु राणासँगको रोहबरमा भएको निर्णयअनुसार नोभेम्बर २३ मा भएको साधारणसभा तथा कार्यसमिति बैठकमा नै शेयर किनबेचको टुंगो लागिसके पनि निर्णय भने सार्वजनिक गरिएको थिएन् । अदालतको आदेश आएको दिन आफूहरुले पहिले नै शेयर किनबेच गरिसकेको सन्देश दिनका लागि मात्रै विज्ञप्ति जारी गर्ने काम गरिएको थियो ।
अहिले यो सार्वजनिक चासोको विषय बन्नुका साथै ठूलो बदमासी भएकाले छानविन गरी दोषीहरुलाई कारवाहीको माग पनि गरिएको छ । धेरैले उच्च राजनीतिक र प्रशासनिक तहको संरक्षणमा यो काम भएको भन्दै आलोचना समेत गरिरहेका छन् । तर योभन्दा पनि महत्वपूर्ण र गम्भीर बदमासी भएको चार सय मिलियन डलरको अपचनबारे अहिलेसम्म कसैको ध्यान पुगेको देखिन्न ।
एनसेलको शेयर खरीद बिक्री रोक्न अन्तरिम आदेशको मागसहित उच्च अदालत पाटनमा परेको रिटमा गएको शुक्रबार अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेसम्वन्धमा यही आउँदो मंसिर २५ गते सम्वन्धित पक्षलाई छलफलका लागि बोलाएको छ । प्राधिकरणले पत्र काटेपछि जवाफ दिँदै एनसेलले खरीद प्रक्रिया पूरा भएपछि आवश्यक कागजाज संकलन गरेर अनुमतिका लागि पेश गर्ने जवाफ दिएको छ । यी सबै कुरा एनसेल र आजियटाले अनुमान गरेर चालेको कदम हो भन्दै स्रोतले टेलियाले कर तिर्न दिएको पैसा सरकारलाई नबुझाएर किन उनीहरुले आफूहरुले भागबण्डा गरे ? यो कुरामा प्राधिकरणदेखि राजश्व प्रशासनले कुनै प्रश्न नउठाएकोमा आश्चर्य प्रकट गर्यो ।
के हो खास कुरा ?
टेलिया सोनेराले तत्कालिन समयमा रेनोण्ड होल्डिङ्सको आफ्नो ८० प्रतिशत शेयर आजियटालाई बिक्री गर्दा ‘नो क्यास नो डेब्ट’ सहित एसपीए (शेयर पर्चेज एग्रिमेन्ट) गरेको थियो जुन एसपीए पछि नेपालको सर्वोच्च अदालतले माग गर्दासमेत दिन उनीहरुले अस्वीकार गर्यो । एसपीएमा यदि पुँजीगत लाभकर कुरा नेपालले उठाएमा आजियटाले नै तिर्ने शर्त उल्लेख छ । यस्तो कर वास्तवमा लाभ गर्ने पक्ष (व्यक्ति वा संस्था)ले तिर्नुपर्ने हुन्छ । उनीहरुबीच भएको डिलमा सो दायित्व आजियटाको नै हुने भनिएकाले आजियटाले टेलियासँग लाभकरवापतको रकम माग गर्ने वा उविरुद्ध मुद्दामा जाने कुनै पहल पनि गरेन् । आजियटाको तर्फबाट यसको व्यवस्थापन गर्ने काम सतिशले लिएका थिए ।