ट्राभल कम्पनीको युजर आईडी ह्याक गरी टिकट चोरी गरेकाे घटनामा थप एक जना पक्राउ

कोल्हवी न्यूज
२०८० मंसिर १६, शनिबार १३:५२

जियोल्यान्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सीआईबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जियोल्यान्ड ट्राभल्सको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीमा रहेकाे मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरुले बालुवाटारमा रहेकाे जियोल्यान्डको युजर आईडी ह्याक गरेर जजिरा र एअर अरेबियाको टिकट चोरी गरेको आरोप छ ।

ह्याकरहरुले पटकपटक गरेर एक करोड ९९ लाख ८२ हजार रुपैयाँ बराबरको टिकट चोरी गरेका ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।’रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*