हत्याको योजना बनाइरहेकै बेला हतियारसहित पाँच जना बारामा पक्राउ

कोल्हवी न्यूज
२०८० कार्तिक २३, बिहीबार १७:३१

बारामा व्यक्ति हत्याको योजना बनाउँदै गरेको अवस्थामा रिभल्भर र पेस्तोलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका – ११ भगवानपुरस्थित एक घरमा बिहीबार बिहान बसेर हत्याको योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले हतियार सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका – ११ ११ भगवानपुरका ६२ वर्षीय रूपलाल पटेलका, उनका छोराहरू ४० वर्षीय उपेन्द्र पटेल र २७ वर्षीय धिरेन्द्र पटेल, उपेन्द्रका साला रौतहटको बौधीमाई नगरपालिका – २ का ४४ वर्षीय राजमङ्गल पटेल र ससुरा ८० वर्षीय शोभा राउत रहेका छन् । उनीहरूको साथबाट अत्याधुनिक रिभल्भर १ थान, त्यसमा लाग्ने गोली ७ राउन्ड, नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ राउन्ड र केएफ १२ लेखिएको गोली २ राउन्ड बरामद गरिएको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उपेन्द्रले गाउँकै एक व्यक्तिको गोली हानेर हत्या गर्नका लागि बिहीबार बिहान आफ्नै घरमा केही मान्छे बोलाएर योजना बनाइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उपेन्द्रको घरमा बिहीबार बिहान ८ बजेतिर छापा मारेको थियो । त्यस क्रममा उपेन्द्रको घरभित्र हत्याको योजना बनाएर बसेकै अवस्थामा उपेन्द्रसहित पाँच जना पक्राउ परेका हुन् ।

उपेन्द्रको घरबाट कालो रङ्गको प्लास्टिकको झोलाभित्र सेतो कपडाले बेरेर राखिएको अवस्थामा हतियार र गोली बरामद भएको एसपी काफ्लेले बताए । हतियार र गोलीसहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*