संघर्षमा आरती साहको परिवारः आयोगलाई आजपाले बुझायो ज्ञापनपत्र

कोल्हवी न्युज
२०८० कार्तिक २३, बिहीबार १६:१४

काठमाडौं:आम जनता पार्टी (आजपा)ले आरती साहको परिवारलाई न्याय दिलाउँनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको छ ।

आजपा उपाध्यक्ष एवं सभासद तिकल थापाको नेतृत्वमा रहेको टोलीले हरिहर भवन, पुल्चोक ललितपुर स्थित कार्यालयमा आज पुगेर आयोगका अध्यक्ष तमबहादुर मगरलाई ज्ञापनपत्र बुझाएको हो ।

न्यायको माग गर्दै विगत १४७ दिनदेखि आरती साहका बुवा विनोदप्रसाद साहको परिवारले काठमाडौंको माईतीघरमा धर्ना बस्दै आएको छ । तर सरकारले उनीहरुको माग सुनुवाई नगरेपछि आजपाले आवाज उठाउँदै आएको छ ।

संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउदै आजपाले निरन्तर सरकारको गम्भीर ध्यानाकर्षण गराउदै आएकोछ । आजपा अध्यक्ष प्रभु साह संसददेखी सडक सम्म आवाज उठाउँदै आएका छन् । बुधबार आजपा अध्यक्ष आफै माईतीघरमा पुगेर धर्नामा बसेका थिए । संसदमा समेत उनले यस बारेमा पटक पटक आवाज उठाउँदै पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै सरकारसंग माग गर्दै आएका छन् ।

आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले न्यायको माग गर्दै संघर्ष गरिरहेको विनोदको परिवारलाई न्याय दिनमा ढिलाई गर्न नहुने बताए । आजपा विनोदको परिवारको आन्दोलनमा ऐक्यबद्धता सहित उनीहरुको माग पुराहोस भन्दै पहल गर्दै आएको सापकोटाले बताए ।

मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाउँन पुगेको टोलीमा रहेका सापकोटाले आयोगका अध्यक्ष मगरले आफूहरुले विनोदको परिवारलाई न्याय दिलाउँन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

गत जेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका,८ का विनोदप्रसाद साहकी छोरी आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका भने निकै शंकास्पद देखिएको छ । सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थाल्यो । तर, घटनाको २२ दिनसम्म प्रहरीले आरतीको माइतीपक्षलाई बोलाएन् । माइतीपक्षको भनाइ नै नराखी प्रहरीले एकाएक रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा पठायो’ आजपाले आयोगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

धनुषाका जिल्ला न्यायाधिवक्ता सुदीप दंगालले माइतीपक्षको भनाइ समेत समावेश गरेर ल्याउन भन्दै रायसहितको प्रतिवेदन फिर्ता पठाएको थियो । त्यसपछि बाध्य बनेको प्रहरीले गत ९ जेठको मात्रै आरतीको माइतीपक्षलाई कागजका लागि बोलायो । माइतीपक्षले आफूले भनेको जस्तो बेहोरा लेख्न र पहिलो जाहेरीमा ६ बजे हत्या गरेको उल्लेख गरेका कारण त्यसलाई सच्याएर शनिबार राति नै हत्या गरी आइतबार साँझ मात्रै खबर गरिएको बेहोरा लेख्न प्रहरीलाई भन्यो । प्रहरीले जाहेरीमा भएको बेहोरा सच्याउन नमिल्ने जवाफ दियो । कागज गर्न बोलाइए पनि पहिले नै तयार पारेको कागजमा हस्ताक्षर गर्न लगाएपछि प्रतिकार गरेको पीडित परिवारको भनाइ छ ।

साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै पीडित परिवारमाथि ज्यादती गरेको भन्दै मृतक आरतीको माइतीपक्षले असार १ रातिदेखि काठमाडौँको बबरमहलस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् । मृतक साहको हत्या र पीडित परिवार माथि भएको प्रहरी यातनाको निश्पच्क्ष न्यायिक छानविन गरी दोषीलाई कारवाही गर्नुको सट्टा सरकार पक्षबाट उल्टै हामी पिडित परिवारलाई निरन्तर दवाब तथा यातना दिदै आएको आरतीका बुवा विनोदको भनाई रहेको छ । न्यायको लागि पीडित परिवारले धर्ना बसिरहेकै बेला असोज २४ गते राती करिब १० बजे तिर ४ जनाको अज्ञात समूहले संघातिक हमला समेत गरेको थियो ।

सांघातिक हमलाको छानबीन गर्नुको सट्टा नेपाल प्रहरीले पीडित परिवारलाई नै असोज २७ बिहान ८ बजेतिर समातेर प्रहरी हिरासतमा लग्यो । शान्तिपूर्ण धर्नामा बसिरहेको पीडितलाई लछार पछार, गालीगलौज तथा कुटपिट गर्दै अनामनगर प्रहरी हिरासतमा थुन्यो । त्यसपछी बाध्य भएर पीडित परिवार प्रहरी अत्याचारको विरुद्ध अनामनगर हिरासत भित्रै अन्शन शुरु गरे । त्यहाँ पनि प्रहरी हिरासत भित्र बस्दा आफन्त, वकिल, पत्रकारसँग समेत भेट्न नदिइ कठोर यातना भोगीरहेकै अवस्थामा प्रहरीले वीर अस्पतालमा पुर्यायो । अझ अस्पतालमा उपचार गराउनुको सट्टा अस्पतालको गेटमा बेबारिसे छोडेर गए जहाँ पीडितहरु बाध्य भइ अस्पतालको गेटमा समेत अनसन बस्नु परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*