मालपोत कार्यालय पर्साका पाँच जना अधिकृतलगायत विरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरूले जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला नगरी आफैँ अपचलन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७१ र ०७२ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरि नारायण मिश्र, भूप बहादुर बोगटी, गोपाल बहादुर ढुङ्गाना, पदम प्रसाद अर्याल, चन्द्र बहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार मिश्रले २०७१ र ७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिस्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफ्नै खातामा जम्मा गरेको आरोप छ ।
उनीको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको २ करोड ९लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व चुहावट भएको आयोगले जनाएको छ । उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।
अर्का मालपोत अधिकृत बोगटी, ढुङ्गाना, अर्याल, भण्डारी, कम्प्युटर अधिकृत तिवारी र नायब सुब्बा उपाध्यायले पनि मिश्रको जस्तै एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र लिखतहरू दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको राजश्व हिनामिना गरेको अभियोग आयोगको छ ।
सहायक प्रवक्ता थपलियाका अनुसार बोगटीले १ करोड ४९ लाख ६९ हजार १ सय ४५ रुपैयाँ, ढुङ्गानाले ३५ लाख ४५ हजार ९ सय ५० रुपैयाँ, अर्यालले १६ लाख ८१ हजार ६ सय रुपैयाँ, भण्डारीले २ लाख ४४ हजार ४ सय ६२ रुपैयाँ, तिवारीले १ करोड ४१ लाख १ सय ७१ रुपैयाँ र उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९ सय ७५ रुपैयाँ राजश्व हिनामिना गरि भ्रष्टाचार गरेको अभियोग आयोगको छ । उनीहरुविरुद्ध पनि मिश्रको जस्तै अभियोग लगाएर मुद्दा दर्ता गरिएको छ ।
उपाध्यायको हकमा भने उनको र श्रीमतीको मृत्यु भइसकेकाले अंश खाने अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्याय देखिएको हुँदा उनीहरूबाट दामा दामासाहीले असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको जानकारी थपलियाले दिए ।