सशस्त्रले थाल्यो सीमा स्तम्भ मर्मत

नेपाल–भारत सीमा छुट्याउने साढे ८ हजार स्तम्भमध्ये २ हजार ७ सय १६ वटा गायब
कोल्हवी न्यूज
२०८० कार्तिक १७, शुक्रबार ०८:०० गते

सशस्त्र प्रहरी बल (एपीएफ) ले जीर्ण अन्तर्राष्ट्रिय सीमा स्तम्भको मर्मत थालेको छ । नेपाल र भारतबीच जीर्ण सीमा स्तम्भ मर्मत गर्नेसम्बन्धी ३ वर्षअघि समझदारी भए पनि कार्यविधि निर्माण र थप समन्वय अभावमा काम अघि बढेको थिएन । दुई देशबीच भएका समझदारीअनुसार सरकारले सशस्त्र प्रहरीलाई साधन स्रोत उपलब्ध र कार्यविधि तय गरिदिएसँगै मर्मतको काम अघि बढेको हो ।

पहिलो चरणमा मधेश प्रदेशअन्तर्गत जिल्लाका स्तम्भको मर्मत र रंगरोगन सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा अनुगमन, नियमन र व्यवस्थापनका लागि नेपाल र भारतका गृह, परराष्ट्र, नापी, स्थानीय प्रशासन तथा सीमा सुरक्षा गर्ने निकायका अधिकारी सम्मिलित संयुक्त संयन्त्र ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) क्रियाशील छ ।

त्यही संयन्त्रको बैठकले जोर स्तम्भ भारत र बिजोर स्तम्भ नेपालले मर्मतसम्भार र रंगरोगन गरी दुरुस्त अवस्थामा राख्ने निर्णय गरेको थियो । त्यसकै आधारमा बिजोर स्तम्भ मर्मतको काम नेपालले सशस्त्र प्रहरीमार्फत सुरु गरेको हो । नापी विभागको अभिलेखअनुसार नेपाल–भारत सीमा छुट्याउने करिब साढे ८ हजार स्तम्भमध्ये २ हजार ७ सय १६ वटा गायब छन् । १ हजार ५ सय ५६ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भ सामान्य मर्मत गरी दुरुस्त राख्न सकिने अवस्थामा छन् ।

त्यसमध्ये बिजोर स्तम्भ निर्माणका लागि सशस्त्रलाई गृह मन्त्रालयले कार्यविधि बनाउन जिम्मा दिएको थियो । कार्यविधि बनेर सरकारले स्वीकृत गरेसँगै पहिलो चरणमा मधेश प्रदेशका ८ जिल्लाबाट काम सुरु भएको हो । भारतसँग १ हजार ८ सय ८० किमि लम्बाइमा सीमा कायम रहेकोमा कर्णालीबाहेक कोशी प्रदेश, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिन्छन् । त्यसमध्ये पनि नवलपरासी र दार्चुलाको सीमा विषय टुंगोमा पुग्न नसकेकोले त्यसबाहेकमा मात्रै स्तम्भ मर्मतको काम हुनेछ । सीमा स्तम्भ दुरुस्त अवस्थामा नहुँदा भारतीय पक्षबाट सीमा अतिक्रमण र बलमिच्याइँका घटना बर्सेनि दोहोरिने गरेका छन् ।

तराई क्षेत्रमा भारतीय पक्षबाट बनेका अनधिकृत भौतिक संरचनाका कारण निम्तिने बाढी, डुबान र कटानले पनि सीमा स्तम्भ बगाउने, गायब हुने र हराउने गरेका छन् । त्यसलाई समेत मध्यनजर गरी नेपालले आफ्नोतर्फका स्तम्भको अवस्था पहिचान गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ वर्षअघि परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा गृह र रक्षा मन्त्रालय तथा नापी विभागका अधिकारीसहितको सीमा निरीक्षण समिति बनाएर समस्या पहिचान एवं समाधानका उपाय पेस गर्न निर्देशन दिएको थियो ।

त्यसको समेत सुझाव र जेडब्लूजीको बैठकका निर्णयसमेतका आधारमा स्तम्भको अवस्था दुरुस्त राख्न बिहीबारबाट काम अघि बढेको हो । २०७७ साउन १९ को मन्त्रिपरिषद् बैठकले हमाल नेतृत्वको समितिको प्रतिवेदनका विषय ग्रहण गर्दै सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

दुई देशबीच ठूला (जंगे) स्तम्भको संख्या ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना स्तम्भ ५ हजार १ सय ५६ छन् । सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सीमा स्तम्भको सुरक्षा, रंगरोगन र मर्मतसम्भारकै लागि कार्यविधि बनेर बिहीबारबाट मर्मतसम्भार र रंगरोगनको काम अघि बढेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*