रुपेशमाथि गोली चलाउने समूहले ३५ दिन अगाडि मात्रै बारामा गरेको थियो अर्को हत्या
बारा जिल्लाको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानेर हत्या गर्ने सुटर समूहको यसअघि बारामा भएका अन्य गोली प्रहार घटनामा समेत संलग्नता देखिएको छ ।
रुपेशमाथि गोली प्रहार गर्ने सुटरहरूमध्ये भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सुक्लहिया गाउँका सुजीत कुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीले यसअघि पनि बाराको विभिन्न स्थानमा गोली प्रहार गरी भएको हत्याका घटनामा संलग्नता देखिएको हो ।
सोमबार दिउँसो रुपेशमाथि गोली प्रहार गर्ने सुजीत, चञ्चल, मनिष र कामेश्वरले नै ३५ दिन अगाडि असोज ९ गतेका दिन बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली प्रहार गरी हत्या गरेका थिए । अजितको हत्या गरेर फरार रहँदै आएका उनीहरूले नै रुपेशको हत्या गरेको प्रहरीले जनाएको छ । सुजीत उक्त आपराधिक समूहका लिडर हुन् ।
बुधवार रुपेशको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले स्वयम् रुपेशको हत्या पनि सुजीत, चञ्चल, मनिष र कामेश्वरको संलग्नता रहेको बताए ।
एसपी काफ्लेले बुधवार सार्वजनिक गरेको पाँच जनामध्ये कलैया – ६ मदर्शा टोल निवासी २२ वर्षीय राधा गुप्ता रुपेश हत्याको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरी अनुसन्धानका अनुसार राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग योजना बनाएर रुपेशको हत्या गर्न लगाएको एसपी काफ्लेको भनाई थियो । मनोजले सुजीत समूहलाई सुपारी दिएर रुपेशलाई मार्ने लगाएको उनले बताए ।
अजित हत्याकाण्डमा समेत प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको बताएको थियो । उक्त घटनामा पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।