जागिर (कविता)
यो शहरका थुप्रै
भोक र अभावको ईश्वर हो मेरो मालिक ।
एकदिन मालिकसँग भनेँ-
मालिक, तपाईं मेरो भोकको ईश्वर हो
तपाईंकै वरदान हो यो जीवन
यसपालि जन्मदिन धुमधामले मनाउँछु
कामबाट बिदा दिनुस् ।
मालिकले भन्यो-
मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ
यो पल्ट थुप्रै काम छ
अर्काे वर्ष मनाऊला जन्मदिन ।
मैलै हुन्छ भनेँ ।
फेरि एक दिन मालिकसँग बिन्ती गरेँ-
मालिक, तपाईं भोकको ईश्वरको पनि ईश्वर हुुनुहुन्छ
तपाईंकै दयामा सजियोस् एउटा घर
प्रेमिकासँग बिहे गर्नु छ
मलाई बिदा दिनुस् ।
मालिकले भन्यो–
लगनहरू अझै आउँछन्
यो पल्ट थुप्रै काम छ
कुनै अर्को लगनमा बिहे गर ।
मैले फेरि हुन्छ भनेँ ।
एक दिन म जिन्दगीसँग औधी थाकेँ
र भनेँ –
मालिक, तपाईंले मेरा भोक र अभावहरू टारिदिनुभयो
धन्य छ तपाईंलाई
अब मलाई मर्न दिनुस् ।
मालिकले भन्यो-
ठीक छ
आज थुप्रै काम छ
सप्पै काम सक
र भोलि मर ।











