गाजामा सहायता सामग्री पुर्याउने रफा नाका खोल्न इजिप्ट सहमत
गाजामा २० ट्रकसम्म सहायता सामग्री पुर्याउने गरी रफा नाका खोल्न इजिप्ट सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग टेलिफोनमा कुराकानी गर्दै गाजामा मानवीय सहायताका सामग्री पठाउनको लागि नाका खोल्न आग्रह गरेका थिए । त्यसपछि इजिप्टले गाजा स्ट्रिपमा मानवीय सहायताको लागि २० ट्रकसम्म सहायता सामग्री पठाउन दिने बताएको छ ।
एक दिनको लागि इजरायल भ्रमणमा गएर फर्किएका बाइडेनले हमासविरुद्धको कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जान नहुने गरी कारबाही अघि बढाउने बताएका थिए ।
गाजामा इजरायलले खाना,पानी,इन्धन र बिजुली पनि जान दिएको छैन । गाजाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अस्तालमा इमेर्जेन्सी उपचारको लागि समेत सामग्री अभाव हुन थालेका छन् । मंगलबार राति इजरायलले गाजाको एक अस्पतालमा रकेट प्रहार गर्दा ५ सय जना भन्दा धेरैको ज्यान गएपछि अवस्था झनै भयावह बनेको छ ।










