गाजामा आकास, जमिन र समुन्द्रबाट आक्रमण गर्ने तयारी, लाखौँलाई मृत्युदण्ड दिएसरह हुने डब्ल्युएचको चेतावनी
इजरायलको सेनाले उत्तरी गाजा सहर आतंककारीको सहर भएको भन्दै ध्वस्त बनाउने तयारी सुरु गरेको जनाएको छ ।
उत्तरी गाजाका नागरिकलाई जतिसक्दो चाँडो सहर छाड्न आदेश दिएको इजरायलले अब जल, जमिन र आकासबाट आक्रमण गरिने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
गाजालाई अब सधैँका लागि हमासमुक्त क्षेत्र बनाउने योजनाका साथ गाजाका सबै सुरङ ध्वस्त बनाउने र उसका हरेक किल्ला सखाप पार्ने इजरायलले चेतावनी दिएको छ ।
तर इजरायलले भनेजस्तो ११ लाख मानिसलाई तत्कालै गाजाबाट अन्त पठाउन असम्भव रहेको र इजरायलले मानवीयता विरोधी चेतावनी दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गाजाको उत्तरमा रहेका अस्पतालहरूलाई समेत खाली गर्न भनिएको छ। तर विश्व स्वास्थ्य संगठनले केही बिरामीहरूलाई स्थानान्तरण गर्न बाध्य पार्नु “मृत्युदण्डको सजाय जस्तै हुनसक्ने” बताएको छ।
डब्ल्यूएचओले उत्तरी गाजामा दुई हजार भन्दा बढी बिरामीहरूको उपचार गर्ने २२ अस्पतालहरू खाली गर्ने इजरायलको आदेशको कडा निन्दा गरेको छ। धेरै नागरिकहरू अस्पताल वरिपरि शरण खोजिरहेका छन्, स्वास्थ्य सुविधाहरूमा बम विष्फोट हुँदा उनीहरूको जीवन पनि जोखिममा रहेको डब्ल्युएचओले जनाएको छ ।










