सिजनमै हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायी निराशामा

कोल्हवी न्यूज
२०८० आश्विन २८, आईतवार ०७:३५

 मनसुन सकिएर पर्यटकीय सिजनको शुरुआतमा हिजाे भएको हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको हाे।

व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । ‘सिजनमै भएको हेलिकप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ’, सिम्रिक एअरका महाप्रबन्धक मुरलीधर जोशीले भन्नुभयो, ‘विशेषगरी यस समयमा हेलिकप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।’

उहाँका अनुसार हेलिकप्टरको वर्षभरी हुने कुल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । ‘वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ’, उहाँले भन्नुभयो, ‘बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।’ यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकप्टर बढी प्रयोग गर्ने उहाँको भनाइ छ ।

सिजनमै भएको हेलिकप्टर दुर्घटनाले देशको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘मुख्य पर्यटकीय सिजन शुरु भएकाले यतिबेला हेलिकप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।’

यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउनुहुन्छ ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा हिजाे बिहान ७ बजेर २४ मिनेटमा दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार दुर्घटनामा घाइते हेलिकप्टर पाइलट प्रकाशकुमार सेढाईँकाे  काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारपछि भारत लैजाने तयारी गरिएकाे छ। दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकप्टरको प्रयोग बढ्दो छ ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा अहिले निजी क्षेत्रका १२ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकप्टरको विजनेस राम्रो हुन्छ । दशैँ, तिहार, छठलगायतका महत्त्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ ।

तीन महिनामा दुई हेलिकप्टर दुर्घटना

पछिल्लो तीन महिनामा मनाङ एअरका दुई हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गएकाे असार २६ गते मनाङ एअरको कलसाइन एन–एमभी एएस–५०० कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परि चालक दलका एक सदस्यसहित हेलिकप्टरमा सवार छ जनाको ज्यान गएकाे थियाे ।

सोलुखुम्बुको सुर्केबाट बिहान काठमाण्डाैका लागि उडान भरेको याे हेलिकप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ मा रहेकाे लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

छ महिनामा तीन हेलिकप्टर दुर्घटना

विसं २०८० को छ महिनामा तीनवटा हेलिकप्टर दुर्घटनामा परेका छन् । गएकाे असार २६ गते भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाको तीन महिनामै त्यही कम्पनीको अर्को हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

यस्तै गएकाे वैशाख २० गते सिम्रिक एअरको हेलिकप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको याे दुर्घटनामा एक जनाको ज्यान गएकाे थियो भने चार जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा त्यही कम्पनीको समान एक हेलिकप्टर दुर्घटनामा परेको थियो । मनाङ एअरको छ वर्षमा चार हेलिकप्टर दुर्घटना भएका छन् ।

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको ज्यान गएकाे छ । हिजाेको दुर्घटनासहित नेपालमा हेलिकप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् ।

मनाङ एअर निलम्बनमा

पछिल्लो तीन महिनामा मनाङ एअरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले याे कम्पनीको एओसी (एअर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एअरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । ‘मनाङ एअरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् ।  अब याे कम्पनीसँग हेलिकप्टर पनि छैनन्’, प्रवक्ता भुलले भन्नुभयो, ‘प्राधिकरणले मनाङ एअरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।’

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एअरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली आज आइतवार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*