मनाङ एअरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते
शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो। दुर्घटनामा पाइलट प्रकाशकुमार सेडाई घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, दुर्घटनामा घाइते पाइलट सेडाईको उद्धार गरी काठमाडौं ल्याइएको छ। उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट सेडाइ मात्र थिए। दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको थियो।
हेलिकोप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ। हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।