अफगानिस्तानमा भूकम्पबाट १२० जनाको मृत्यु, १ हजार घाइते

कोल्हवी न्यूज
२०८० आश्विन २१, आईतवार ११:२८ गते

इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२० जनाको मृत्यु भएको छ। भूकम्पबाट कम्तीमा १ हजार मानिस घाइते भएका जनाइएको छ।

स्थानीय समयानुसार शनिबार बिहान ११ बजे पश्चिमी शहर हेरातबात ४० किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पछि तीनपटक परकम्पहरु गएका थिए।

भूकम्पको धक्काले धेरै भवनहरु भत्किएका छन्। मानिसहरु भग्नावशेषमा फसेका कारण मृत्यु हुनेको संख्या बढ्न आशंका गरिएको छ।
‘हामी आफ्नो कार्यालयमा थियौं। अचानक भवन हल्लियो। पर्खालको प्लास्टर खस्न थाल्यो र पर्खालमा चर्कियो, केही पर्खाल र भवनको केही भाग भत्कियो,’ हेरात निवासी बशीर अहमदले समाचार एजेन्सी एएफपीलाई भने, ‘मेरो परिवारसँग मेरो सम्पर्क हुन सकेको छैन। सञ्चार सम्बन्ध विच्छेद भएको छ। म धेरै चिन्तित र डराएको छु, यो डरलाग्दो थियो।’

प्रान्तका प्रकोप व्यवस्थापन प्रमुख मोसा अशारीले भूकम्पबाट १ हजार मानिसहरु घाइते भएको जानकारी दिए। करिब १२० जनाले ज्यान गुमाएका उनले जानकारी दिए।

हेरात इरानसँगको सीमाबाट १२० किलोमिटर (७५ माइल) पूर्वमा अवस्थित छ र यसलाई अफगानिस्तानको सांस्कृतिक राजधानी मानिन्छ। विश्व बैंकको सन् २०१९ को तथ्याङ्कअनुसार प्रान्तमा १९ लाख मानिस बसोबास गर्ने अनुमान गरिएको छ।

अफगानिस्तान बारम्बार भूकम्पबाट प्रभावित हुन्छ। गत वर्षको जुन महिनामा पाक्टिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट १ हजारभन्दा बढीको ज्यान गएको थियो भने हजारौं घरबारविहीन भएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*