रौतहट र सर्लाही जोड्ने हुलाकी राजमार्गको बागमती पुल वर्षौँ देखि अलपत्र
रौतहट:रौतहट र सर्लाही जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको पुल वर्षौँदेखि अलपत्र परेकोले पुल निर्माणको माग गर्दै स्थानीयले गौरमा प्रदर्शन सुरु गरेका छन्।
रौतहट र सर्लाही जोड्ने बागमती पुल एक दशक भन्दा लामो समयदेखि निर्माण अलपत्र रहेको र तत्काल निर्माणकाे थालनी हुनुपर्ने माग गर्दै स्थानीयले पर्दर्शन गरेका हुन।
गत निर्वाचनमा पुल निर्माणको आश्वासन दिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा प्रदेश सांसद नागेन्द्र साहविरुद्ध स्थानीयले प्रदर्शन गरेका हुन्। तत्काल निर्माणको कार्यलाई अगाडि बढाउने आश्वासन दिएका पूर्व प्रधानमन्त्री नेपालले नै १३ वर्ष अघि हुलाकी राजमार्गलाई लक्षित गरी पुलको शिलान्यास गरेका थिए।
पुल निर्माण नहुँदा हुलाकी राजमार्ग औचित्यहीन रहेको भन्दै पूर्व प्र.म नेपाल र प्रदेश सांसदविरुद्ध स्थानीयवासीले नाराबाजी गर्दै पुल निर्माण कार्य सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीमार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्।
दुर्गा भगवती गाउँपालिका-५ का वडाध्यक्ष धर्मनाथ जयसवालको नेतृत्वमा सयौं स्थानीय बासिन्दाले पुल निर्माणको वातावरण बनाउन नेपाल सरकारसँग माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
गत वर्ष तत्कालीन पप्पु निर्माण सेवालाई ब्ल्याक लिस्ट गर्दै पहिलेको टेण्डर खारेज गरेर नयाँ टेण्डरको माध्यमबाट अर्को निर्माण कम्पनी आए पनि निर्माण कार्यले गति लिन सकेको छैन।
वडाध्यक्ष जयसवालले आफूले पटक-पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर जनप्रतिनिधिहरूको विरोध गर्दै निर्माण कार्य तत्काल संचालन गराउन ज्ञापन पत्र बुझाउनु परेको बताए। पुलको पुनः निर्माण तत्काल थालनी नभए चरणबद्ध रुपमा सङ्घर्ष गर्ने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ।
पुल वर्षौदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दाले निकै कष्टकर जीवन बिताउँदै आएका छन्।