नेपाल ‘विश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै
अमेरिकाको वाशिंगटन डिसीस्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको विश्व सांस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरूबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरूसम्बन्धी प्रस्तुति दिँदैछन्।
संसारभरका विभिन्न संस्कृतिहरूलाई एकै ठाउँमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन्। हालसम्म पाँच लाखभन्दा बढी सहभागीहरूले कार्यक्रममा सरिक भइ संसारभर छरिएका सांस्कृतिक विविधताको महत्त्वमाथि ऐक्यबद्धता जनाएका छन्।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरूले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरूको प्रस्तुति हुनेछ। विश्वभरका १८० राष्ट्रहरूबाट १७,००० कलाकारहरू सम्मिलित भई ६१ वटा नृत्यहरू प्रस्तुत हुँदैछन्।
नेपालले पनि यस सांस्कृतिक उत्सवमा सहभागिता जनाउनेछ। उत्सवमा सहभागी हुन १३ वर्षदेखि ६० वर्षसम्मका १५० जना कलाकारहरू अमेरिका पुगिसकेका छन्।
यी नृत्यहरूको निर्देशन चर्चित नृत्य प्रशिक्षक यज्ञमान शाक्यले गरेका छन् र विगत पाँच महिनादेखि नृत्य टोलीलाई प्रशिक्षण दिँदै आएका छन्।
यस वर्ष हुन लागेको ‘विश्व सांस्कृतिक उत्सव २०२३’ चौथो संस्करण हो, सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करणमा पच्चीस लाख सहभागी भएका थिए।
त्यसैगरी, दोस्रो संस्करण जुन बर्लिनमा २०११ मा सम्पन्न भएको थियो, त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो संस्करण २०१६ मा दिल्लीमा आयोजित भएको थियो, जसमा सैतिस लाख सहभागी थिए।










