मलङ्गवा घटनामा सबैलाई संयमित हुन आम सञ्चार प्राधिकरण मधेस प्रदेशको अपिल
कोल्हवी:विगत केही दिन यता सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ती सेलाउने क्रममा उत्पन्न द्वन्द्वका कारण सिर्जित प्रतिकुल अवस्थाले हामीलाई चिन्तित तुल्याएको छ । दुई साता अघि कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुरु भएको विवाद साम्य भईसकेको अवस्थामा गत शुक्रबार साँझ गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भई घटनाले उग्र रुप लिँदै जानु अत्यन्तै दुःखद् हो । उक्त घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै द्वन्द्वरत दुवै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।
सामाजिक एकता र सद्भावको पक्षमा उभिन मलङ्गवाबासीलाई हार्दिक अपील गर्दछौं । केही दिनयता अशान्त एवम् निरन्तर कर्फ्यु जारी रहेकोले अवस्था सहज बनाउनका लागि सम्वद्ध सबै पक्षलाई आ–आफ्नो तवरबाट गम्भीर बन्न भनिएको छ ।
विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुता सहित सामाजिक सद्भाव र एकताको पक्षमा रहँदैआएका छौं । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेकोले एक अर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्ने कार्य कोही कसैबाट हुनु हुदैन । जस्तोसुकै समस्या, बिमति र चुनौतीहरु वार्ता सम्वाद, सहमति, र सहकार्यबाट गर्न सकिने भएकोले यसतर्फ गम्भीर बन्न सम्वद्ध पक्षसँग आग्रह समेत गरेको छ ।
सर्लाहीको मलङ्गवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरुबारे विभिन्न सञ्चारमाध्यमहरुमा सम्प्रेषित समाचार तथा विचारहरु सन्तुलित रुपमा आइरहेकोले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई धन्यवाद् दिन चाहन्छौं । आगामी दिनमा समेत मलङ्गवाको अवस्थालाई पुर्ववत रुपमा सहज एवम् सहिष्णु बनाउनमा आ–आफ्नो तवरबाट सकारात्मक भुमिका निर्वाहका लागि अनुरोध गरेको छ ।
मलङ्गवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरुबारे फेसबुक, पेज, युट्युब, टिकटक, इन्टाग्राम लगायतका केही सामाजिक सञ्जालमा अतिरञ्जित, उत्तेजक, घृणा, द्वेष तथा द्वन्द्वलाई प्रोत्साहित गर्ने खालका भड्काउपूर्ण पोष्ट एवम् सन्देशहरु प्रवाह भईरहेको पाईएकोले यस्ता कार्य नगर्न नगराउन आग्रह छ । सामाजिक सद्भाव, भाइचारा, एकता एवम् सहिष्णुता अभिवृद्धि गर्ने कार्यमा आ–आफ्नो भूमिका निर्वाह गरिदिन आमसञ्चार प्राधिकरणले असोज ६ गते बिग्यप्ती निकाल्दै हार्दिक अपील गरेको छ।