सबैभन्दा बढी वृद्ध वृद्धा भएको देश जापान, ८० वर्षमाथिको जनसङ्ख्या १ करोड २५ लाख
जापानका १० प्रतिशतभन्दा बढी मानिस अर्थात् करिब १ करोड २५ लाख भन्दा बढी ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्याङ्कले देखाएको छ ।
सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्व सन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ ।
जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दोस्रो स्थानमा रहेको इटालीको २४.५ प्रतिशत र तेस्रो स्थानमा रहेको फिनल्यान्डको २३.६ प्रतिशतको तुलनामा यो स्तर मापन गरिएको हो । “जापानमा विश्वमा सबैभन्दा बढी वृद्ध वृद्धा रहेका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार जापानमा सन् १९४६ देखि सन् १९६४ ताका जन्मिएको (ब्याबी बुमर) जनसङ्ख्या १२ करोड ४४ लाख मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् । करिब एक करोड २५ लाख ९० हजार मानिस ८० वर्ष वा सोभन्दा बढी उमेरका छन् भने दुई करोड मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेरका छन् । फलस्वरूप, जापान वृद्ध श्रम शक्तिमा निर्भर मुलुक भएको छ ।
जापानमा ९० लाखभन्दा बढी वृद्ध वृद्धाले काम गरिरहेका छन्, जुन श्रम शक्तिको १३.६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् । जापानमा सबै वृद्ध वृद्धामध्ये एक चौथाइले रोजगारी पाएका छन्, जुन दक्षिण कोरियाको ३६.२ प्रतिशतभन्दा कम हो, तर संयुक्त राज्य अमेरिकाको १८.६ र फ्रान्स ३.९ प्रतिशतका साथ अन्य विकासशील देशहरूभन्दा धेरै हो । जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कूल जनसङ्ख्याको ३४.८ प्रतिशत वृद्ध वृद्धा रहने अनुमान गरिएको छ । एएफपी ।










