राष्ट्रकविको स्मृतिमा अक्षयकोष स्थापना, हरेक वर्ष १ जना साहित्यकारलाई पुरस्कृत गरिने

उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष एक जना साहित्यकारलाई एक लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ।
कोल्हवी न्यूज
२०८० आश्विन २, मंगलवार १२:३१ गते

राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।

मर्स्याङ्दी वांमय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका  स्मृतिमा  उनकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन्।

प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रकविका पुत्रद्वय इन्दीवर र राजीव घिमिरे तथा प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा, सदस्य यामबहादुर दुरालगायतको सहभागिता थियो।

उक्त अक्षयकोषको ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई एक लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ।

पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिए।

पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ।

उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकवि घिमिरेको जन्म जयन्तीका दिन असोज ७ गते सो पुरस्कार वितरण गरिने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*