नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु, अफ्रिकी युनियन स्थायी सदस्यमा समावेश
दक्षिणी छिमेक भारतको नयाँ दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ। आज र आइतबारसम्म गरी दुई दिनसम्म चल्ने शिखर सम्मेलनमा सहभागिता जनाउन १७ देशका विश्व नेताहरु नयाँ दिल्ली आएका छन्।
जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ सोल्जसहित २० देशका सरकार प्रमुख, राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी छन्।
सम्मेलनमा युक्रेनमा आक्रमण गरेर विश्व मञ्चबाट वहिष्कृत भएका एवं अन्तर्राष्ट्रिय न्यायालयको वारेन्टर सूचीमा परेका रुसी राष्ट्रपति भ्लादमिर पुटिन र नेपालको उत्तरी छिमेक चीनका राष्ट्रपति सी जिनपिङ भने सहभागी छैनन्। चीन र रुसले विदेश मन्त्रीस्तरीय प्रतिनिधि पठाएका छन्।
सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। उनीहरुले पछिल्लो समय रुसले युक्रेनमाथि गर्दै आएको अत्याचारपूर्ण आक्रमण, उत्तर कोरियाको आणविक हतियार परीक्षण, चीनमा भइरहेको मानव अधिकार हनन, अफ्रिकी महादेशमा भइरहेको सैनिक कुलगायत विश्व घटनाबारे एकै ठाउँमा विचार आदान–प्रदान गर्नेछन्।
कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन्। उनले अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए।










