भारतपछि चन्द्रमा मिसनका लागि उड्यो जापानी रकेट

कोल्हवी न्यूज
२०८० भाद्र २२, शुक्रबार १३:५५ गते

जापानले पहिलो पटक सफलतापूर्वक चन्द्रमाका लागि रकेट प्रक्षेपण गरेको छ । जापानको स्थानीय समय अनुसार बिहीवार बिहान ८ः४२ बजे तानेग्शिमा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको हाे ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अनुसार एच-आईआईए लन्च भेहिकल नं ४७ रकेटमा एक्सरे इमेजिङ एन्ड स्पेक्ट्रोस्कोपी मिसन (एक्सरिजम) स्याटलाइट र स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम-SLIM) स्याटलाइट प्रक्षेपण गरिएको थियो ।

रकेट प्रक्षेपण गरेको १४ सेकेन्ड ९ मिनेटमा एक्सरिजम र ४७ मिनेट ३३ सेकेन्डमा स्लिम छुट्टिएको थियो ।

यदि सबै कुरा योजना अनुरूप भए फेब्रुअरीमा ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गर्ने अपेक्षा गरिएको छ । भारतपछि जापान चन्द्रमामा यान अवतरण गर्ने पाँचौं राष्ट्र हुने होडमा छ ।

यसअघि अमेरिका, तत्कालीन सोभियन युनियन, चीन र भारतले सफलतापूर्वक यान अवतरण गरिसकेका छन् । करिब दुई साताअघि मात्र भारत चन्द्रमाको दक्षिणी धुव्रमा यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको थियो ।

जापानी यान चन्द्रमाको कक्षामा पुग्न चार महिनाको समय लाग्ने बताइएको छ । यस परियोजनाका लागि जापानले १० करोड डलर (करिब १३ अर्ब २८ करोड ८४ लाख रुपैयाँ) खर्च गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*