माटोको रोग पत्ता लगाउन नार्कको परियोजना

कोल्हवी न्यूज
२०८० भाद्र १६, शनिबार ०७:३४ गते

माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्युचर इनोभेसन ल्याबले संयुक्त रूपमा सो परियोजना सञ्चालन गर्ने भएको छ । नार्कले शुक्रबार एक कार्यक्रमको आयोजना गरी ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ परियोजनाका बारेमा जानकारी गराएको छ ।

माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाको प्रतिफलले किसानलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । नार्कका कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले माटोजन्य रोगले उत्पादनमा निकै समस्या गरिरहेको हुनाले यसको निराकरणका लागि विशेष अध्ययन नै गर्नुपर्ने देखिएकाले यो परियोजना सञ्चालन गरिएको बताउनुभयो । माटोजन्य रोगका कारण साना किसान निकै मर्कामा पर्ने गरेका छन्, माटोजन्य रोगका बारेमा धेरै कुरा थाहा पनि हुँदैन र त्यसले बालीमा गरेको क्षति ठुलो हुने गरेको उहाँले बताउनुभयो ।

परियोजनाको नेतृत्व गरिरहनुभएका कृषि वैज्ञानिक डा। रामबहादुर खड्काले हालसम्म माटोमा विभिन्न १२ किसिमको रोग फेला परेको बताउँदै त्यसलाई नियन्त्रणका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताउनुभयो । कतिपय रोग निकै खतरनाक हुन्छन्, त्यो रोग लाग्यो भने बिघाका बिघा बाली नष्ट गर्दिन्छन् तर किसानलाई थाहा पनि हुँदैन । उहाँले भन्नुभयो, “बालीमा माटोका कारण रोग लागेको हुन्छ तर किसानले बालीको उपचार गरिरहेका हुन्छन्, जसले उपचार गर्दा गर्दै बाली सखाप भइसकेका हुन्छन् ।”

अहिले केरामा देखिएको पानामा रोग माटोजन्य रोग हो तर किसानले थाहा पाएन भने उसले केराको उपचार गर्नतिर लाग्छ तर आफूहरूले समयमा रोग पता लगाएका कारण त्यसलाई नियन्त्रण गर्नतिर लागेको बताउनुभयो । माटोबाट हुने बिरुवाका रोगजन्य जीवाणु जस्तै ढुसी, निमाटोड र ब्याक्टेरियाल जरा र बिरुवाका अन्य भागहरूमा रोग लगाएर बिरुवालाई सङ्क्रमित गर्ने गरेको उहाँले बताउनुभयो । माटोजन्य रोगले सबैभन्दा बढी प्रभाव तरकारीमा पार्ने गरेको हुनाले तरकारी खेती हुने ठाउँमा विशेष निगरानी गर्ने बताउँदै उहाँले माटोबाट हुने रोगहरू विशेष गरी चुनौतीपूर्ण हुन्छन् किनभने रोगजन्य यी जीवाणु माटोमा लामो समयसम्म बिरुवा सङ्क्रमित हुने गरेको जानकारी दिनुभयो ।

जलवायुमैत्री स्थानीय स्रोतसाधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिहरूको विकास एवं अवलम्बनबाट कृषकहरूमा खाद्य तथा पोषण सुरक्षा गर्नका लागि अमेरिकी सहयोग नियोग फिड दी फ्याचुर कार्यक्रम अन्तर्गत हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नार्कले प्राप्त गरेको छ । यस परियोजनाको उद्देश्य दीर्घकालीन खाद्य र पोषण सुरक्षालाई सहयोग पु(याउनका लागि तरकारी उत्पादनमा नेपालका सीमान्तकृत किसानका लागि लाभदायक हुन सक्ने वातावरणमैत्री र कम लागतको प्रविधिको विकास गर्ने रहेको नार्कले जनाएको छ । यो चालु आर्थिक वर्षदेखि सुरु हुने यो परियोजना २०८३ मा सम्पन्न हुने वैज्ञानिक खड्काले बताउनुभयो । यस परियोजनाको बजेट करिब पाँच लाख पाँच हजार अमेरिकी डलर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*