गौहत्या तथा धार्मिक हस्तक्षेपको विरुद्ध कोल्हवीमा बृहत शान्ति पदयात्रा
कोल्हवी:बाराको कोल्हवीमा आज बुधवार गौहत्या तथा धार्मिक हस्तक्षेपको विरुद्ध वृहत शान्ति पदयात्रा निकालिएको छ ।
सनातन धर्म संरक्षण मूल समारोह समिति कोल्हवीको आयोजना उक्त वृहद शान्ति पदयात्रा निकालिएको हो ।
उक्त पदयात्रामा कोल्हवी नगरका विभिन्न वडा तथा गाउँगाउँबाट बैदिक हिन्दु सनातन तथा श्रीकृष्ण प्रणामी सम्प्रादय लगायतको सयौको सहभागिता रहेको थियो । हिन्दुराष्ट कायम गर, गौहत्या गर्नेलाई कारवाही गर, सम्पुर्ण सनातनी एक होऔँ, जातिय द्धन्द बन्द गर जस्ता विभिन्न नारा सहित कोल्हवी नगर परिक्रमा गरिएको थियो ।
आयोजित उक्त बृहद पदयात्राले नगरका विभिन्न भागको परिक्रमा गरि मुख्य चौक स्थित शिवमन्दिरको प्राङ्गणमा धार्मिक सभा गरिएको थियो । धार्मिक सभामा बोल्दै श्रीकृष्ण प्रणामी सम्प्रदायका धर्म प्रचारक एमव् शास्त्री कमलजी प्रमाणीले अहिले धरान सहित देशका विभिन्न स्थानहरुमा हिन्दुहरुको धार्मिक आस्थाप्रति हस्तक्षेप बढ्दै गएको बताउनु भएको छ । उहाँले ठाउँठाउमा हिन्दुहरुको आस्थाको प्रतिक एमव् राष्ट्रिय जनावर गाई माताको हत्या भईरहदाँ सरकार मुकदर्शक बनेकोले हिन्दुहरु जाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सनातन धर्म संरक्षण मूल समारोह समिति कोल्हवीका संयोजक बम बहादुर कुँवरको अध्यक्षतामा आयोजिकत धार्मिकसभामा बोधराज सुवेदी, मुस्लीम सुदायका जलिल देवान लगायतकाले सम्बोधन गर्दै गौ हत्या गर्नेलाई कडा कारवाही गर्न जोडदार माग गर्नुभएको थियो ।
कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी मन्दिर कोल्हवी ८
नयाँवस्तीका अध्यक्ष होमनाथ उप्रेतिले गर्नुभएको थियो ।
वृहद शन्ति पदयात्रामा कोल्हवीका समाजसेवीहरु लक्ष्मिप्रसाद जयसवाल, रसिक सुवेदी, बलजोधन चौधरी, युवा समाजसेवी जीवन हमाल लगायतको विशेष उपस्थिती रहेको थियो । गौहत्याका घटनाहरु बढ्न थालेको त्यसको विरुद्ध हिन्दुधर्मालम्बीहरु ,हिन्दु धर्मप्रति आस्था राख्नेहरु, धार्मिक गुरुहरु र सन्तहरुको समेत सहभागितामा रहेको स्थानीय समाजसेवी राजेन्द्र मैनालीले जानकारी दिनुभएको छ ।
धरानमा केही पहिचानवादीहरुले पहिचानको नाउमा गोरु काटेर सामुहिक भोज गरेर सामाजिक सञ्जालमा प्रचार गरेपछि अहिले देशरभर हिन्दुहरु त्यसको विरोधमा उत्रिएका छन ।