वाग्नर प्रमुख प्रिगोजिनको हवाई दुर्घटनामा ज्यान गएपछि लागेको आरोपमा रुसको खण्डन
रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ ।
मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन चढेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर रुसले यी आरोप पूर्णरुपमा झुटा भएको दाबी गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हिजो आरोपको खण्डन गर्नुभयो । उहाँले थप अनुसन्धानबाट दुर्घटनाको बारेमा तथ्यहरू बाहिर ल्याउने समेत बताउनुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई दुर्घटनामा ज्यान गुमाएका १० जनाको परिवारप्रति समवेदना प्रकट गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको जुन महिनामा रूसको सैन्य नेतृत्वविरुद्ध भएको विद्रोहको नेतृत्व गरेका प्रिगोजिनको बुधवार मस्को नजिक भएको हवाई दुर्घटनामा ज्यान गएको हो ।एजेन्सी










