बचतकर्ताको एक अर्ब लिएर फरार सानो पाइला सहकारीका सञ्चालकहरूलाई पक्राउ गर्न सीआइबीलाई पत्राचार
बचतकर्ताहरूको एक अर्ब भन्दा बढी निक्षेप रकम फिर्ता गर्न नसकेर सम्पर्क विहीन भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न वीरगञ्ज महानगरपालिकाले विभिन्न निकायमा पत्राचार गरेको छ ।
वीरगञ्ज महानगरपालिका – १० आदर्शनगरस्थित सानो पाइला सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न वीरगञ्ज महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० र नेपाल राष्ट्र बैङ्कलाई भदौ ४ गते छुट्टाछुट्टै पत्र लेखेको हो ।
तीन वटै निकायमा पठाएको पत्रमा उक्त सहकारी संस्थाले सहकारी जन्य ठगीको कसुर गरी संस्थाका सदस्यहरूले बचत गरेको करिब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाका सञ्चालक र पदाधिकारीहरूलाई पक्राउ गर्दै कारबाही गर्न माग गरिएको छ ।
महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ । यस्तै नेपाल राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैङ्क खताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरिएको छ ।
यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवम् संरक्षक गितेन्द्रबाबु ९जिबी राई०, अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको छ ।
सानो पाइला सहकारीले सहकारी जन्य ठगी गरेको कसुर पाइएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख सुनिल कर्णले जानकारी दिए ।
उनले भने, ‘उक्त सहकारी संस्थाले सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, शेयर सदस्यहरूको हित विपरीत क्रियाकलाप गरी करिब एक अर्ब रुपैयाँ हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गरेको, बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखियो, त्यसैले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातसहित तीन वटै निकायमा महानगरले सिफारिससहितको पत्र पठाएका हौँ ।’
कर्णका अनुसार सानो पाइला सहकारीले सदस्यहरूले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पाइएको कर्णको भनाई छ ।
सदस्यहरूको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरूलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । बैठकमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था बारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए । यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमा पुगेको थियो । तर अनुगमनमा पुग्दा सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको कर्णले बताए ।
सञ्चालक र व्यवस्थापकहरू नै सम्पर्क विहीन भएपछि महानगरपालिकाले भदौ ४ गते मन्त्रालय, सिआइबी र राष्ट्र बैङ्कलाई कारबाहीका लागि पत्र लेखेको कर्णले बताए ।
काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगञ्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्ड पनि हटाइएको छ । कार्यालय रहेको घरधनीका अनुसार सहकारीका प्रबन्धकहरूले थोरै थोरै गरेर कार्यालयबाट कम्प्युटर र फर्निचरहरू लागेका थिए ।