किर्ते प्रमाणपत्रधारीमाथि अनुसन्धान जारी, पक्राउ पर्नेको संख्या ७ पुग्यो

कोल्हवी न्यूज
२०८० भाद्र २, शनिबार ०८:२१

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध संचालन गरेको ‘अपरेशन फोक्सट्रोट चार्ली’ अन्तर्गत हालसम्म ७ जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

स्वदेश तथा विदेशमा एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनको लागि आफ्नो शैक्षिक योग्यता प्लस टुको लब्धाङ्कमा विभिन्न विषयमा प्राप्त गरेको अंकलाई वास्तविकता भन्दा थपघट गर्ने र नक्कली किर्ते बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

शंकास्पदमाथि अनुसन्धानको क्रममा राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गर्दा नक्कली भनि खुल्न आएका ६ जना व्यक्तिहरूलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा ब्यूरोको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रवक्ता संजय सिह थापाले जानकारी दिए ।

यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बाट नसिम अख्तरलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ । ब्युरोले उनीमाथि पनि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

यसअघि अनु फार्मेसी विराटनगरमा काम गर्ने मनित चौधरी, त्रिवि शिक्षण अस्पतालमा काम गर्ने अमित चौधरी, एमडी अध्ययनको तयारीमा रहेकी एरिना शाह, इशान बाल अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार, बागमती सेन्ट्रल अस्पतालमा कार्यरत रामबाबु यादव र पुनम थापासमेतलाई सीआईबीले पक्राउ गरेको थियो ।

यो प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मा भने अदालतको आदेशले रिहा भएका थिए । प्रहरीले यो अपरेशन अझै जारी रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*