डिएल मेथोडले साथ दिँदा आयरल्यान्ड विरुद्ध भारत विजयी
आयरल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। शुक्रबार राति भएको खेलमा वर्षा बाधक बनेको खेलमा भारत डिएल मेथोडमा २ रनको रोमाञ्चक जित निकाल्न सफल हुँदा खेलमा भारत विजयी बन्यो।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।
खराब सुरुवातका बाबजुत पछिल्लो क्रमले उत्कृष्ट प्रदर्शन गर्दा समानजनक स्कोर बनाउन आयरल्यान्ड सफल भएको थियो। ३१ रन जोड्दा ५ विकेट गुमाएको आयरल्यान्डका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्यारी म्याकर्थीले सर्वाधिक ५१ रन बनाएका थिए।
त्यस्तै, कर्टिस क्याम्फरले ३९ रन बनाउँदा मार्क एडिर १६ रन बनाए। कप्तान पउल स्ट्रलिङ ११ रनमा आउट भएका थिए। भारतका लागि जसप्रित बुमराह, प्रसिद्ध कृष्ण र रवि विश्वइले समान २-२ विकेट लिएका थिए।
१ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६.५ ओभरमा ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। जतिबेला भारत डिएल मेथोडमा २ रनले अगाडि थियो।
उसका लागि ओपनर यशस्वी जैसवालले २४ रन बनाउँदा ऋतुराज गाइकवार्ड १९ र सन्जु स्यामसन १ रनमा अविजित रहँदा खेल प्रभावित भएको थियो। आयरल्यान्डका लागि क्राइग योङले २ विकेट लिएका थिए। यी दुई बीचको दोस्रो टी-२० आइतबार हुँदै छ।










