बाराको सिम्राैनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक बर्ष २०७७–०७८ मा सञ्चालित योजनामा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनबारे अख्तियारमा उजुरी परेको थियो।
कोल्हवी न्युज
२०८० श्रावण २५, बिहीबार १०:१७

कोल्हवी:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्राैनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहाले सिम्रौनगढ नगरपालिकाका वडा नम्बर तीनमा सामुदायिक भवन निर्माण कार्य र त्यसै वडाको नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्टा बिल भरपाई बनाएको अख्तियारको भनाई छ ।

यस्तै नगरपालिकासँग गरेको सम्झौताको शर्त पालना नगरी नभए नगरेको कार्यसमेत भए गरेको भनी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि पेश भएको नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन बमोजिम ३७ लाख, ९३ हजार, तीन सय ९२ रुपैयाँ स्वीकृत एवं भुक्तानी दिएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार अधिकृत साह, चौधरी, यादव र कुशवाहकलाई ३७ लाख ९३ हजार ३९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा एक बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक बर्ष २०७७–०७८ मा सञ्चालित योजनामा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनबारे अख्तियारमा उजुरी परेको थियो।नेपाल प्रेस बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*