नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा

नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
आज सोमवार अस्ट्रेलियाको सनकर्प स्टेडियममा भएको खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हराउँदै इङ्ग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
खेलको ८७ औँ मिनेटमा इङ्ग्ल्यान्डकी लरेन जेम्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
अब इङ्ग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बिया र जमैकाबीचको विजेतासँग अगस्ट १२ मा खेल्नेछ । कोलम्बिया र जमैकाबीचको खेल भोलि मङ्गलवार हुँदैछ ।










