दोस्रो टी२० मा पनि वेस्टइन्डीजविरुद्ध पराजित भयो भारत
वेस्टइन्डीजविरुद्ध ५ खेलको टी२० सीरीजमा भारतीय टीमको हालत खराब भएको छ । पहिलो खेल गुमाएपछि दोस्रो खेलमा पनि भारतीय टीमले दुई विकेटको हार व्यहोर्नु परेको छ ।
आइतबार राति खेलिएको खेलमा एक समय भारतको जीत सुनिश्चित झैँ देखिएको थियो, तर वेस्टइन्डीजका पछिल्लो क्रममा ब्याट्सम्यानहरुले पुरै बाजी नै पल्टाइदिए ।
वेस्टइन्डीजले ५ खेलको टी२० सीरीजको दोस्रो प्रतिस्पर्धामा भारतीय टीमलाई दुई विकेटले पराजित गरेको हो । योसंगै वेस्टइन्डीजले जारी सीरीजमा २–० को अग्रता कायम गरेको छ ।
अब तेस्रो प्रतिस्पर्धा मंगलबार राति गुयानामै खेलिँदैछ । अब यो सीरीज जित्नका लागि भारतीय टीमले बाँकी सबै खेल जित्नु पर्नेछ । भारतले एउटा मात्र खेल हार्ने बित्तिकै सीरीज नै गुमाउने छ ।
गुयानामा खेलिएको पछिल्लो खेलमा १५३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्टइन्डीजको टीमले ८ विकेटको क्षतीमा १५५ रन बनाउँदै खेल आफ्नो पक्ष्ँमा पार्न सफल भयो ।
वेस्ट इन्डीजका लागि निकोलस पूरनले ४० बलमा सर्वाधिक ६७ रन बनाए । उनीबाहेक शिमरोन हेटमायरले २२ तथा रोवम्यान पावेलले २१ रनको योगदान दिए ।
भारतीय टीमका लागि कप्तान तथा अलराउण्डर हार्दिक पाण्ड्याले ३५ रन दिएर तीन विकेट लिए भने लेग स्पिनर युजवेन्द्र चहलले १९ रन दिएर दुई विकेट लिए । अर्शदीप सिंह तथा मुकेश कुमारले समान एक विकेट लिए ।
वेस्टइन्डीजले लक्ष्य पछ्याउने क्रममा दुई पटक त्यस्तो सम्भावना देखिएको थियो, जब खेल भारतको पक्षमा गएको थियो । तर, भारतीय टीमका खेलाडीले मौकाको सदुपयोग गर्न सकेनन् ।
भारतले खेलको प्रारम्भमै वेस्टइन्डीजको स्कोर दुई रन हु“दै दुई विकेट लिएर उक्त टीमलाई व्याकफूटमा पुर्याएको थियो । तर, निकोलस पूरनले वेस्टइन्डीजलाई खेलमा फर्काए । त्यसपछि भारतीय टीमले वेस्टइन्डीजलाई १२६ देखि १२९ को स्कोरको क्रममा चार विकेट लिन सफल भएको थियो ।
त्यसक्रममा चार रन बनाउन चार विकेट गुमाए पनि वेस्टइन्डीजले यो खेल आफ्नो पक्षमा पार्न सफल भयो । नवौं तथा दशौं नम्बरका ब्याट्सम्यान अकील हुसैन तथा अल्जारी जोसेफले नै वेस्टइन्डीजलाई विजयी बनाए । अकीले अविजित १६ रन तथा अल्जारीले पनि अविजित १० रन बनाए ।
त्यसअघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै ७ विकेटमा १५२ रन बनाएको थियो । तिलक वर्माले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा ५१ रन बनाए । यो उनको अन्त्राष्ट्रिय करियरमा पहिलो अर्धशतक हो । यसबाहेक ईशान किशनले २७ तथा कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाए ।
वेस्टइन्डीजका लागि अकील हुसैन, अल्जारी जोसेफल तथा रोमारियो शेफर्डले समान दुई विकेट लिए ।










