करैयामाई वडा नम्बर ८ को नक्कली कागजात र हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा एक जना पक्राउ
कोल्हवी:बारामा नक्कली कागजात र हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा एक जना पक्राउ परेको छ । करैयामाई गाउँपालिका वडा नम्बर ८ का नक्कली लेटर प्याड, स्टाम्प तथा वडाध्यक्ष दिनेश चौधरीको हस्ताक्षर गरी किर्ते गरेकाले पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको साबिक मलाही गाउँ बिकास समिति वडा नम्बर ४ बस्ने नवल किशोर सहनी रहेको छ । आर्थिक बर्ष २०७९/८० को मिति २०७९ फागुन १८ गतको चलानी नम्बर १२१७ भएको लेटर प्याडमा स्टाम्प र वडाध्यक्ष चौधरीको हस्ताक्षर सहनी आफैंले किर्ते गरेर घर बाटो प्रमाणितको सिफारिस गरेको आरोप रहेको छ ।
पुरानो मितिमा भएको सिफारिस काम नलाग्ने भएपछि सहनीले बैंक प्रयोजनका लागि सोही बिषयमा नयाँ सिफारिस लिन आउँदा पुरानो सिफारिसमा वडाध्यक्ष चौधरीको हस्ताक्षर नमिलेको कारण शंका गरिएको थियो । सोही मितिमा भएको दर्ता र चलानीको रेकर्ड पल्टाएर हेर्दा फरक ब्याक्तीको फरक बिषयमा सिफारिस रहेकाले एवं सहनीको सिफारिस संग मेल नखाएका कारण आवश्यक अनुसन्धान गर्नका लागि प्रहरी बोलाई जिम्मा लगाई दिएको वडाध्यक्ष चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा त्यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी, नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका उपाध्यक्ष रामबाबु मेहता, वडा सदस्यहरु, कर्मचारी लगायत बिभिन्न संचार गृहका प्रकाशक, संचालक तथा सम्वाद दाताहरुको उपस्थिती रहेका थिए ।
वडाध्यक्ष चौधरीको अनुसार सो सिफारिस मिलाई दिन तथा सहनीको बिषयमा कुनै पनि कारवाहीको पकृया अगाडी नबढाउन बिभिन्न दलालहरु सम्पर्कमा आउन खोजेका थिए । तर यस्ता किर्ते सिफारिस अरु धेरै गरिएको हुन सक्ने र आफुलाई फराउन खोजेको पनि हुन सक्ने भएकाले बिहिवार जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको चौधरीले बताए । यस्ता गतिविधिमा अरु पनि संलग्न हुन सक्ने भएकाले यस बिषयमा बिशेष अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीलाई निवेदन गरेको जनाए ।