महिला विश्वकप : लैंगिक समानताको अवसर

कोल्हवी न्यूज
२०८० श्रावण १६, मंगलवार ०८:१२ गते

आयोजकमध्येको एक न्युजिल्यान्ड यसअघि नै महिला विश्वकपको समूह चरणबाट बाहिरिसकेको थियो । पछिल्लो खेलमा नाइजेरियासँग ३–२ को हारले स्तब्ध अस्ट्रेलियामाथि क्यानडासँगको खेलअघि ठूलो दबाब थियो । अस्ट्रेलियाले यसलाई आफ्नो ४५ वर्षको इतिहासमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण खेलको संज्ञा दिएको थियो ।

क्यानडासँग विजय हात पार्न नसके अस्ट्रेलियाको पनि न्युजिल्यान्डकै जस्तै हविगत हुने थियो । अस्ट्रेलिया र न्युजिल्यान्डको आतिथ्यतामा महिला विश्वकप भइरहेको छ । अस्ट्रेलियाले फुटबलमा एसियाको प्रतिनिधित्व गर्ने भए पनि ओसियाना क्षेत्रले पहिलो पटक महिला विश्वकप आयोजना गरिरहेको छ ।

त्यही सेरोफेरोमा नेपालका लागि अस्ट्रेलियन दूतावासले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी, महिला पदाधिकारी, रेफ्री, प्रशिक्षक, नेपाली राष्ट्रिय महिला र यू–२० टोलीसँग बसेर राजधानीको एक होटलमा अस्ट्रेलिया र क्यानडाको खेल हेर्ने व्यवस्था मिलाएको थियो । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क सो कार्यक्रमका दौरान निकै छटपटाएकी थिइन् ।

हयाले रासोले नवौं मिनेटमा पहिलो गोल गर्दा उनको खुसी उम्लिएको थियो । सहायक रेफ्रीले अफसाइडको झन्डा उठाएको देखेपछि उनको खुसी उड्नलाई धेरै बेर लागेन । तर उनको खुसी तत्कालै पुनः फर्किएको थियो, जब भीएआरले त्यो गोललाई मान्यता दिएको थियो । मध्यान्तरसम्म अस्ट्रेलियाले २–० को अग्रता बनाइसकेको थियो । तर नर्भस भएकाले भोल्क आफूलाई पूरा खेल हेर्न गाह्रो भएको जनाइरहेकी थिइन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र सदस्य सरिला श्रेष्ठसँगै एउटै टेबलमा बसेर उनले दोस्रो हाफको खेलको आनन्द लिइन् । अस्ट्रेलियाले ४–० ले एकतर्फी खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो । यसले भोल्कलाई पनि ठूलो राहत दिएको थियो । नेपाली महिला टोलीका खेलाडी तथा पदाधिकारीहरू सबै अस्ट्रेलियाको समर्थनमा हरेक गोल र राम्रो मुभमा ताली बजाइरहेका थिए ।

‘यो महिला विश्वकप फुटबलको ठूलो उत्सवमात्र होइन, यो टोली र खेलाडीको सीप र उपलब्धिको उत्सव मात्र होइन, फुटबल र सबै क्षेत्रमा लैंगिक समानतालाई अगाडि बढाउने अवसर पनि हो,’ भोल्कले आफ्नो मन्तव्यका क्रममा भनिन्, ‘सबै ठाउँमा महिलाले समान व्यहवार, मान्यता, आफ्नो समुदाय र देशमा योगदान गर्ने अवसरको प्रतिस्पर्धा गर्छन्, चाहे त्यो राजनीति, व्यवसाय, शिक्षा, नागरिक समाज, संस्कृति वा खेलकुदमार्फत होस् ।’

यस विश्वकपपश्चात् अस्ट्रेलिया फुटबल संघले २०२७ सम्ममा सक्रिय महिला खेलाडीको संख्या ६ लाख पुर्‍याउने लक्ष्य राखेको आफ्नो सरकारको धारणा उनले कार्यक्रममा राखेकी थिइन् । यस विश्वकपदेखि अहिलेसम्मकै सबैभन्दा बढी ३२ टोलीले प्रतिस्पर्धा गर्दै छन् । एन्फा अध्यक्ष नेम्वाङले नेपाली महिला टोलीबाट आफू निकै सकारात्मक रहेको जनाउँदै अस्ट्रेलियालाई सफल आयोजनाका लागि शुभकामना दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*