वीरगञ्जका प्रभु सोनार ४७ लाख भन्दा बढीको अबैध सुन सहित पक्राउ
ठूलो मात्रमा अवैध सुनसहित वीरगञ्जका एक व्यवसायी हेटौँडामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले झन्डै आधा किलोग्राम सुनसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय प्रभु साह सोनारलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँबाट अवैध तरिकाले हेटौँडाको बाटो भई सुन लिएर वीरगञ्ज तर्फ एक व्यक्ति आइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा प्रभु पक्राउ परेका हुन् ।
मकवानपुर प्रहरीका अनुसार शङ्काको आधारमा प्रभुले शरीर र उनले बोकेको झोला चेकजाँच गर्ने क्रममा उनको साथबाट अवैध भन्सार छली चोरी पैठारी निकासी गरी ल्याइएको ४८९ ग्राम ३७ मिली ग्राम सुन फेला परेको थियो ।
प्रहरीले जफत गरेको सुनको ४७ लाख ३६ हजार ७ सय ५९ रुपैयाँ अनुमानित मूल्याङ्कन गरेर उनलाई अवैध सुनसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।