निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर, १५ महिना कैद, बिगोसहित १८ करोड जरिवाना
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रवार खड्कालाई १ वर्ष ३ महिना कैद तथा बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाएको हो ।
९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बराबर बिगो ठहर भई सोही बमोजिम जरिवाना समेत गरिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए ।
बिगो र जरिवाना गरी खड्काबाट कुल १८ करोड ३८ लाख १३ हजार २६८ रुपैयाँ असुलउपर हुनेछ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशद्वय शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले आरोप पत्रमा दाबी गरिएअनुसार खड्काको बैंक मौज्दातमा रहेको रकम र घरजग्गा समेत जफत हुने फैसला गरेको योगीले बताए ।
उनकी श्रीमती शर्मिला खड्काको नाममा रहेको दुई कित्ता जग्गा र त्यसमा बनेको घर समेत जफत हुने फैसला भएको छ ।
यसका अलावा अमिता लामा सोदेम्बाको नाममा रहेको एउटा कित्ताको घरजग्गा समेत जफत हुने फैसला गरिएको योगीले जानकारी दिए ।
खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।
त्यसअघि इन्जिनियरका रूपमा सेवा शुरू गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर ९उपसचिवस्तर० बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए ।
उनले करिब साढे ४० लाख रुपैयाँ तलब बुझेकोमा जग्गा बिक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् । घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन् ।
उनले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनका रूपमा व्याख्या गरेका थिए । खडकाको नाममा पुर्ख्यौलीबाहेक ३ वटा घर निर्माण र खरिद गरेको भेटिएको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।
उनले २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए । उपत्यकाका तीन जिल्लासहित काभ्रेका विभिन्न स्थानमा उनले ११ कित्ता जग्गा किनेको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।
उनले घरजग्गामा मात्रै ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेका थिए । एक करोड रुपैयाँको सेयर खरिद गरेका उनले ऋणको साँवा र ब्याज भुक्तानीमा ४ लाख २२ हजार खर्च गरेका थिए ।
एक करोड १७ लाख रुपैयाँको गाडी खरिद गरेका उनले विभिन्न बैंकबाट सुपरमार्केटहरूमा मात्रै एक करोड ८० लाख खर्च गरेका थिए । विभिन्न ५५ वटा बैंक, सहकारी र वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेका थिए ।
खडकाले अमिता लामा र श्रीमती शर्मिला खडकाको नाममा सम्पत्ति लुकाएका थिए । खडकाले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार रुपैयाँ लुकाएका थिए ।
खडकाको काठमाडौंको महांकालस्थित सीजी डेभलपर्सले निर्माण गरेको घर ३ करोड २५ लाखको रहेको, त्यसमध्ये २० लाखबाहेक सबै भुक्तानी गरेको आरोप पत्रमा उल्लेख थियो ।
उनले रोड शो रियलस्टेटले निर्माण गरेको घर खरिदका लागि ८९ लाख ८९ हजार रुपैयाँ ‘गुड फर पेमेन्ट’ चेक समेत दिएका थिए ।लोकन्तरबाट ।