बार्सिलोनाका कप्तान इन्टर मियामी जाने

कोल्हवी न्यूज
२०८० असार ९, शनिबार ०८:४० गते

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्क्वेट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको छ ।

इन्टर मियामीले बार्सिलोनाका ३४ वर्षीय कप्तान सर्जियो बुस्केट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको हो । बुस्केट्सले मे महिनामा क्लबमा १८ वर्षपछि ला लिगा च्याम्पियन छाड्ने घोषणा गरेका थिए ।

यससँगै बुस्क्वेट्स र लियोनेल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । ३५ वर्षीय मेस्सी पनि यसै सिजन फ्रान्सेली क्लब पिएसजी छाड्दै आकर्षक प्रस्तावमा इन्टर मियामीमा अनुबन्ध भइसकेका छन् । बुस्केट्स र मेस्सीले सन् २००८ देखि २०२१ सम्म बार्सामा १३ सिजनसँगै बिताएका थिए ।

उनीहरू तीन च्याम्पियन्स लिग, आठ ला लिगा उपाधि र ६ वटा कोपा डेल रे सँगै जितेका छन् ।रिपोर्टअनुसार पूर्व स्पेनी मिडफिल्डर बुस्केट्सलाई साउदी अरेबियाको क्लबबाट आकर्षक प्रस्ताव आएपनि उनले पनि मेस्सीले जस्तै डेभिड बेकह्यामको स्वामित्वमा रहेको मियामी जाने निर्णय गरेका हुन् ।

स्पेनका पूर्व कप्तान बुस्केट्सले बार्सिलोनाका लागि ७२२ खेल खेले । जुन क्लबको इतिहासमा तेस्रो सबैभन्दा धेरै खेल हो । उनले बार्सिलोनाबाट १५ वर्षको अवधिमा १८ गोल र ४० असिस्ट प्रदान गरेका छन् ।

बुस्केट्स सन् २००५ मा बार्सिलोना पुगेका उनले २००८ मा क्लबको सिनियर टोलीबाट डेब्यु गरेका थिए । नोउ क्याम्प छोड्ने बुस्केट्सको निर्णयपछि बार्सिलोनाले उनलाई क्लबको प्रतिनिधित्व गर्ने सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक भनेर वर्णन गरेका थिए ।

स्पेनबाट सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका उनले २०२२ डिसेम्वरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*