बालेनलाई ‘आदिपुरुष’ निर्माताको पत्र- ‘संवादमा सीता माताको जन्म स्थानको कुनै सन्दर्भ छैन’

कोल्हवी न्यूज
२०८० असार ४, सोमबार १६:०६ गते

भारतीय फिल्म ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रीज लिमिटेडले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेख्दै फिल्ममा सीता माताको जन्म स्थानको बारेमा कुनै सन्दर्भ नभएको स्पष्टिकरण दिएको छ । सुपर कसेट्सकी राधिका दासको हस्ताक्षर रहेको पत्रमा नेपालीहरुको भावनामा कुनै तरिकाले ठेस पुगेको भए क्षमा समेत मागिएको छ ।

पत्रमा भनिएको छ, ‘यो कहिल्यै पनि, कसैका लागि र कुनै पनि तरिकाले असहमति पैदा गर्नका लागि जानीबुझी वा जानाजान गरिएको होइन । श्री राघवको चरित्रको चित्रित गर्दै प्रभासद्वारा बोलिएको संवाद ‘आज मेरो लागि नलड, त्यो दिनका लागि लड जब भारतकी कुनै पनि छोरीमाथि हात राख्नुभन्दा पहिला दुराचारी तिमीहरुको शक्ति सम्झिएर काप्नेछ’मा माता सीताको जन्म स्थानको कुनै सन्दर्भ छैन ।’

उक्त संवादले सबै नारीहरुको सम्मानलाई सन्दर्भित गर्ने र संसारभरका महिलाको सम्मान आफूहरुका लागि अति महत्त्वपूर्ण रहेको पत्रमा उल्लेख छ । ‘हामी चलचित्रलाई कलात्मक रूपमा हेर्न र हाम्रो इतिहासमा चासो सिर्जना गर्न ठूलो दर्शकहरूमा पुग्ने उद्देश्यलाई समर्थन गर्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

काठमाडौंका मेयर शाहले जानकीसम्बन्धी संवाद नसच्चाएको भन्दै भोलि सोमबारबाट काठमाडौंमा ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेका छन् । र, काठमाडौंका हल सञ्चालकहरुले सोमबारबाट सबै हिन्दी फिल्मको शो हटाएका छन् । ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन रोकिने भएपछि करोडौं रुपैयाँमा नेपाल प्रदर्शन अधिकार लिएका वितरकहरुको होस् हवास उडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*