शरणार्थी प्रकरण : रिजालले खोले टोपबहादुरको मुकुण्डो
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीको संलग्नता रहेको भुटानी शरणार्थी नेताले बताएका छन् ।
प्रहरी हिरासतमा रहेका नेता टेकनाथ रिजालले टोपबहादुर रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे लगायतले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा आफूसँग सहयोग मागेको बयान दिएको खुलेको छ ।
शरणार्थी प्रकरणमा भएको घोटाला आफूलाई पहिलेदेखि नै थाहा भएको दाबी गरेका रिजालले आफूले भुटानी शरणार्थीलाई समस्या नपर्ने गरि काम गरे आफूलाई आपत्ति नहुने बताएको दाबी गरेका छन् ।
बयानमा उनले आफूलाई करिब ४ वर्षअघि सानु भण्डारी र केशव दुलालले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग भेट गराएको बताएका छन ।
त्यस भेटमा रायमाझी लगायतले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरू समेतलाई भुटानीहरूकै नाममा लैजाने योजना सुनाएको रिजालले स्वीकार गरेका छन् ।
रिजाल भुटानी शरणार्थी समस्याबारे जानकार र प्रमुख नेता हुन् । उनलाई नेपाल सरकारले मासिक रकम नै दिने गरेको थियो ।
हत्कडीको डरले टोपबहादुर भागेको खुलासा
शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले छोरा सन्दीपलाई पक्राउ गरि हत्कडी लगाएपछि आफ्नो मन बिग्रिएको र आफू केहि समय सम्पर्कबिहीन भएको बयान दिएका छन ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका रायमाझीले आफै प्रहरी कार्यालयमा उपस्थित हुन खोज्दै गर्दा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन ।
सानु भण्डारी र केशव प्रसाद दुलालसँग आफू हेलिकोप्टरमा गोसाईकुण्ड घुम्न गएको स्वीकार गरेका उनले शरणार्थी प्रकरण सुल्झिनुपर्नेमा आफ्नो जोड रहेपनि यो प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन ।
इन्द्रजित राईसँग आफ्नो चिनजान पार्टीमै हुँदा रहेको बताएका रायमाझीले इन्कारी बयान दिएपनि भुटानी शरणार्थी नेता टेकनाथ रिजाले भने उनले यो प्रकरणमा मुख्य भूमिका खेलेको बयान दिएका छन ।
टोपबहाददुर सरकारी अधिकारी भएकाले आफूले केहि भुटानी शरणार्थी कार्डमा हस्ताक्षर गरेको बताएका रिजालले टोपबहादुरको संलग्नता रहेको दाबी गरेका छन ।
हरिबहादुरलाई सुदनको भव्य स्वागत
कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा पर्यटनमन्त्री सुदन किरातिले विमानस्थलमै पुगेर भव्य स्वागत गरेका छन् ।
घुडामाथिसम्म खुट्टा गुमाएका हरिबहादुरले गएको शुक्रबार दिउँसो ३ बजे सगरमाथाको सफल आरोहण गरेसँगै उनले विश्व किर्तिमान बनाएका हुन् ।
शारिरक अशक्तलाई दया माया भन्दा पनि अवसर दिनुपर्ने बताएका हरिले आफ्नो सफलतामा धेरैको सहयोग रहेको बताए ।
यस्तै, मन्त्री किराति उनको कामबाट आफू नतमस्तक बनेको तर्क राखेका छन् । हरिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेर बाजा गाजा र झाँक्रीसहित मन्त्रीको टोलीले स्वागत गरेको थियो ।
रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो ।